२०८२ असार १७ गते, मंगलवार ००:४४

 काठमाडौं-

राजसंस्था पुनर्स्थापनाको माग राख्दै संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको दाबी गरेका छन्। आइतबार फेसबुक लाइभमार्फत उनले आफू काठमाडौंको एउटा मन्दिरमा सुरक्षित रूपमा बसेको बताएका हुन्। शुक्रबारको प्रदर्शनमा हिंसा भड्किएपछि उनी फरार भएको आशंका गरिएको थियो, तर प्रसाईंले आफू देश र जनता छाडेर नभाग्ने प्रष्ट पारेका छन्।

लाइभमा प्रसाईंले भने, “दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन। म भागेको छैन, भाग्दिनँ। म सुरक्षित मात्र बसेको हो। म नेपाल र नेपाली छाडेर कहाँ भाग्छु र? म काठमाडौंको एउटा मन्दिरमा छु।” उनले शुक्रबारको घटनाबारे पनि स्पष्टीकरण दिँदै भने, “तीनकुनेमा पुग्दा मेरो कानको छेवैबाट गोली गयो। स्टेजको ठाउँमा पुग्दा गाडीमै टियरग्यास हानियो। त्यसपछि मैले ड्राइभरलाई निकालेर आफैं गाडी चलाएर प्रहरीको ब्यारिकेड तोडेर सुरक्षित स्थलतर्फ गएको हुँ।”

प्रसाईंले सुरक्षाकर्मीप्रति आफ्नो कुनै दुस्मनी नरहेको बताउँदै घटनामा सुरक्षाकर्मीलाई लागेको चोटप्रति क्षमाप्रार्थी रहेको उल्लेख गरे। “पुलिसलाई चित्त दुखाउने काम गरेको छैन। सुरक्षाकर्मीहरूमाथि मेरो कुनै लक्षित दुस्मनी होइन। तपाईंहरूलाई परेको चोटप्रति क्षमा चाहन्छु,” उनले भने।

शुक्रबार काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको माग राख्दै प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनका क्रममा प्रसाईंले गाडीले सुरक्षाकर्मीलाई पेल्न खोजेपछि स्थिति तनावग्रस्त भएको थियो। उक्त प्रदर्शनमा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं गाडीमा आगजनी भएको थियो। व्यक्तिगत र सरकारी सम्पत्तिमा समेत क्षति पुर्‍याइएको घटनाले व्यापक चर्चा र आलोचना निम्त्याएको छ।

प्रसाईंको यो भनाइले हिंसात्मक प्रदर्शनको जिम्मेवारीबाट पन्छिन खोजेको संकेत गरेको कतिपयको विश्लेषण छ। यद्यपि, उनको पछिल्लो स्थान र आगामी कदमबारे प्रहरीले अनुसन्धान तीव्र पारेको बताइएको छ। घटनापछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस