२०८२ असार १७ गते, मंगलवार ११:०८

वीरगन्ज-

वीरगन्जमा आइतबार राजतन्त्र पुनर्स्थापनाको माग राख्दै नेपाल राष्ट्रवादी सङ्घको नेतृत्वमा एक विशाल र्‍याली सम्पन्न भएको छ। वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्न आयोजित यो र्‍यालीले सहरका मुख्य भागहरूको परिक्रमा गरेको छ।

दिउँसो वीरगन्जको घण्टाघरबाट सुरु भएको र्‍यालीमा सहभागीहरूले “राजा आऊ देश बचाउ”, “सङ्घीयता खारेज गर”, “हिन्दु राष्ट्र कायम गर” र “नेता चोर, देश छोड” जस्ता नारा जोडतोडले लगाएका थिए। र्‍यालीले माइस्थान, आदर्शनगर, अलखिया मठ, घडिअर्वा लगायतका क्षेत्रहरूको परिक्रमा गर्दै पुनः घण्टाघरमा फर्किएर समापन भएको थियो। त्यहाँ र्‍याली एक कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवादी सङ्घका अध्यक्ष जनकलाल साहले सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले गत शुक्रबार काठमाडौंमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको क्षति र अशान्तिको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे। “सरकारले राजावादी आन्दोलनलाई कमजोर बनाउन आफ्ना घुसपैठियाहरूलाई प्रदर्शनमा पठाएर अराजकता फैलायो,” साहले भने। उनले प्रदर्शनका क्रममा पक्राउ परेका सबै राजावादी समर्थकहरूलाई बिना सर्त तत्काल रिहा गर्नुपर्ने माग पनि जोडदार रूपमा राखे।

र्‍याली र कोणसभाले वीरगञ्जमा राजतन्त्रको पक्षमा जनमत रहेको सन्देश दिन खोजेको आयोजकको दाबी छ। यद्यपि, प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसले देशभर राजतन्त्रको मुद्दालाई पुनः चर्चामा ल्याएको छ। काठमाडौंको हिंसात्मक प्रदर्शनपछि वीरगञ्जको यो र्‍यालीले राजावादी आन्दोलनले गति लिने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

प्रहरीले र्‍यालीको सुरक्षाका लागि व्यापक व्यवस्था गरेको थियो भने कुनै अप्रिय घटना नभएको जनाएको छ। तर, सरकार र राजावादीहरूबीचको तनाव भने बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस