काठमाडौं-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। आइतबार उनीहरुलाई म्याद थप गर्नका लागि अदालतमा पेश गरिएको हो। चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा पक्राउ परेका यी नेताहरुमाथि अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले आइतबार नै मिश्र र जबरालाई म्याद थपको प्रस्तावसहित सरकारी वकीलको कार्यालयमा पुर्याएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतमा लगेर उनीहरुको म्याद थपको प्रक्रिया सुरु गरिएको हो। चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुवै नेता सक्रिय रूपमा सहभागी रहेको र उक्त प्रदर्शन हिंसात्मक बनेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

तीनकुनेको उक्त प्रदर्शन राजसंस्था पुनर्स्थापनाको माग राख्दै आयोजना गरिएको थियो, जुन हिंसात्मक बन्दा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो भने ठूलो संख्यामा सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धानका लागि मिश्र र जबरालाई मुख्य जिम्मेवार ठहर गर्दै पक्राउ गरेको जनाएको छ।
अदालतले म्याद थपको प्रस्तावमाथि सुनुवाइ गरेपछि उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने वा अन्य निर्णय लिने तय हुनेछ। यो घटनाले राप्रपाको आन्दोलन र सरकारबीचको तनावलाई थप सतहमा ल्याएको छ।