वीरगन्ज –
काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको प्रहरी स्रोतले दाबी गरेको छ। एक उच्च प्रहरी अधिकारीका अनुसार, प्रसाईं चितवनको माडी हुँदै पर्साको ठोरी नाका भएर भारत प्रवेश गरेका हुन्। तर, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले यो दाबीलाई अस्वीकार गर्दै प्रसाईं ठोरी नाकाबाट भारत गएको कुनै जानकारी नभएको बताएका छन्।
चैत १५ गते राजावादी समूहको नेतृत्व गर्दै प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनी काठमाडौं छाडेर भागेको प्रहरीको भनाइ छ। उक्त प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। दर्जनौं सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट भएको घटनाले देशभर तरंग ल्याएको थियो। प्रदर्शन उत्तेजित बनाएर हिंसात्मक बनाएको र आन्दोलनको ‘कमान्डर’ रहेको भन्दै सरकारले प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको थियो।

यसैबीच, प्रसाईंले शनिबार फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित रूपमा बसेको दाबी गरेका थिए। तर प्रहरीले उनको यो भनाइलाई भ्रामक ठहर गर्दै उनी शुक्रबार राति नै काठमाडौं छाडेर भारत पुगेको जनाएको छ। भारत पुगेको सूचनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीसँग समन्वय गरी उनलाई पक्राउ गर्ने आन्तरिक तयारी थालेको प्रहरी अधिकारीले बताए।
तर, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले गोप्यखबरसँगको कुराकानीमा भने, “प्रसाईं ठोरी नाकाबाट भारत पसेको भन्ने खबरमा कुनै सत्यता छैन। पर्साका सबै नाकामा प्रहरीको कडा निगरानी छ। उनी यहाँबाट भारत छिर्ने सम्भावना नै छैन।” उनको यो भनाइले प्रहरीभित्रै सूचनाको तालमेलमा भिन्नता देखिएको छ।