काठमाडौं-
प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीहरुको गुण÷दोष टिप्पणी गर्ने स्थल संसद नभएको बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही दिन यता संसदअवरुद्ध रहेको भन्दै एकजना कर्मचारीको विषयमा प्रश्न उठाएर संसद अवरुद्ध गर्न नमिल्ने बताउनु भयो । उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले नै निर्धारण गरेको बताउनु भयो । कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम नगर्ने बताउनु भयो । कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल नगरेको खण्डमा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गर्न सकिने बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) ले केही दिनयता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । माओवादी केन्द्रले घिसिङलाई हटाएको बारेमा प्रधानमन्त्रीले संसदमा आएर चित्त बुझ्दो जवाफ नदिएसम्म संसद अवरोध जारी रहने अडान राख्दै आएको थियो । आज प्रधानमन्त्रीले जवाफ दिएसँगै संसदको कारबाही अघि बढेको छ ।
प्रधानमन्त्री ओलीले अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय भएको बताउनु भयो ।