२०८२ असार १७ गते, मंगलवार ०७:०९

रक्सौल /गाणेश संकर –

बिहारको मोतिहारी क्षेत्रमा फर्जी कम्पनी बनाएर ४०० भन्दा बढी युवक-युवतीलाई बन्धक बनाइराखिएको सनसनीपूर्ण घटना बाहिर आएको छ। शनिबार प्रहरीले छापामारी गरी ती युवा-युवतीलाई मुक्त गराएको छ। उद्धार गरिएकाहरूमा धेरै नाबालिग पनि रहेका छन्।

यो रेस्क्यू अपरेशनलाई सफलतापूर्वक सम्पन्न गरेपछि मोतिहारीका प्रहरी अधीक्षक (एसपी) स्वर्ण प्रभातले भने, “केही दिनदेखि हामीलाई सूचना आइरहेको थियो कि रक्सौल थाना क्षेत्रमा नेपाल, उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लाबाट युवाहरूलाई नौकरीको प्रलोभन देखाएर बोलाउने र त्यसपछि बन्धक बनाउने काम भइरहेको छ।” प्रहरीको छापामारीपछि ४०० भन्दा बढी युवक-युवतीलाई मुक्त गराइएको छ, जसमा बिहारका विभिन्न जिल्लाका साथै उत्तर प्रदेश, झारखण्ड र नेपालका युवा-युवतीहरू समावेश छन्।

एसपी स्वर्ण प्रभातले यो घटनालाई लिएर रक्सौल प्रहरीलाई कडा निर्देश दिएका छन्। उनको आदेशमा फर्जी कम्पनीको मास्टरमाइन्ड भनिएका इनामुल हक, मकान मालिक र समूहका नेतासहित १७ जनाविरुद्ध रक्सौल थानामा प्राथमिकी दर्ता गरिएको छ। मुख्य आरोपी इनामुल हकको गिरफ्तारीका लागि एसपीले १० हजार रुपैयाँको इनाम घोषणा गरेका छन्। साथै, उनको सम्पत्ति जफत गर्ने प्रक्रिया पनि सुरु गरिएको छ।

जानकारीअनुसार, यो गोरखधन्धाको मुख्य योजनाकार इनामुल हकसहित पाँच जनाविरुद्ध यसअघि नै रक्सौल थानामा २०८० जेठ १४ गते काण्ड नम्बर २३५/२३ अन्तर्गत पोक्सो ऐनमा प्राथमिकी दर्ता भएको थियो। हाल प्रहरीले इनामुल हकको खोजी तीव्र पारेको छ भने घटनाको थप अनुसन्धान जारी छ।

यो घटनाले क्षेत्रमा ठूलो तरंग ल्याएको छ र प्रहरीले यस्ता अपराधविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस