जनकपुरधाम–
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९, थापाचोकस्थित जनकपुर सीता अस्पतालका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ। अस्पताल दर्ता नगरी सञ्चालन गरेको र मापदण्ड उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गत माघ २६ गते अनुगमनका क्रममा अस्पताल दर्ता नभएको र मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको फेला पारेका थिए। सोही समयमा मुख्यमन्त्री सिंहले अस्पताललाई दर्ता गराएर मात्र सञ्चालन गर्न निर्देशन दिएका थिए। निर्देशनपछि केही समय अस्पताल बन्द गरिएको थियो, तर हालै पुनः सञ्चालनमा ल्याइएको पाइयो।

अस्पतालको मुख्यद्वारमा ‘यो अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ’ भन्ने बोर्ड झुण्ड्याइए पनि भित्रबाट उपचार सेवा सञ्चालन भइरहेको भेटिएको थियो। मुख्यमन्त्री सिंह एक कार्यक्रमबाट फर्किने क्रममा अस्पतालमा पाँच जना बिरामीको उपचार भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले म्यानेजर महतो र बिचौलिया मुखियालाई पक्राउ गरेको हो।
अस्पतालका सञ्चालक डा. प्रमोद यादवसहित अन्य पाँच जना रहेका छन्। मुख्यमन्त्री सिंहको कडा निगरानी र निर्देशनपछि अनधिकृत रूपमा अस्पताल सञ्चालन गर्ने र मापदण्ड उल्लंघन गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।