२०८२ असार १७ गते, मंगलवार ००:५६

बाँके–

बाँके प्रहरीले भारतीय ग्याङ्स्टरको परिचय दिएर सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७, कोठघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढाक्षेत्री रहेका छन्। उनी हाल बाँकेको कोहलपुर–५ मा कोठा भाडामा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुढाक्षेत्रीले विदेशी मोबाइल नम्बरको ह्वाट्सएप प्रयोग गरी आफूलाई भारतीय ग्याङ्स्टर लरेन्स बिस्नोई र अनमोल बिस्नोईको रूपमा प्रस्तुत गर्दै धम्कीपूर्ण म्यासेज पठाएका थिए। उनले पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्दै रकम नदिए जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए। प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको मोबाइल बरामद भएको र विदेशी नम्बरबाट म्यासेज पठाएको पुष्टि भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताए।

लरेन्स बिस्नोई भारतका कुख्यात ग्याङ्स्टर हुन्, जो सन् २०१४ देखि फिरौती र हत्या आरोपमा जेलमा छन्। उनमाथि पंजाबी गायक सिद्दु मुसेवालाको हत्या (२९ मे २०२२), अभिनेता सलमान खानलाई ज्यान मार्ने प्रयास र बाबा सिद्दीकीको हत्या जस्ता गम्भीर आरोप छन्। उनका भाइ अनमोल बिस्नोईले लरेन्स जेलमा रहेको समयमा व्यापारी र उद्योगीहरूलाई धम्की दिँदै फिरौती माग्ने गरेको भारतीय प्रहरीको दाबी छ।

पक्राउ परेका बुढाक्षेत्रीको विगत पनि अपराधसँग जोडिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले २०६१ साउन २७ मा उनलाई नेपाली युवतीलाई ललाईफकाई भारत लैजाने र जिउ मास्ने–बेच्ने उद्योग मुद्दामा पक्राउ गरेको थियो। २०६२ चैत ८ मा झापा प्रहरीले धम्की दिई चन्दा असुली गरेको मुद्दामा उनलाई समातेको थियो। त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंबाट २०६४ भदौ ९ मा धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखेर फिरौती असुलेको, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट २०६४ चैत २७ मा संविधानसभा निर्वाचनका उम्मेदवार ऋषि शर्मालाई गोली हानी मारेको कर्तव्य ज्यान मुद्दा, र २०६५ चैतमा द्वन्द्वपीडित सेना–प्रहरीको आन्दोलनमा हतियार खोसेको मुद्दा लागेको प्रहरी रेकर्डमा छ।

यस्तै, कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको मुद्दामा उनलाई पाँच वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उक्त सजाय भुक्तान गरी २०७० फागुन २८ मा कारागारबाट छुटेका थिए। २०५९ मा नेपाल सेनामा भर्ना भएका बुढाक्षेत्रीले छोटो समयमै जागिर छाडेर भागेका थिए। त्यसपछि कुनै पेसामा संलग्न नभई विभिन्न समूहसँग मिलेर अपराधिक गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ।

यो पक्राउले बाँके क्षेत्रमा फिरौती र धम्कीको घटनामा संलग्न अपराधीहरूमाथि कडा कारबाहीको सङ्केत गरेको छ। प्रहरीले बुढाक्षेत्रीको सम्पर्क सञ्जाल र अन्य सम्भावित संलग्नताबारे गहिरो अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस