२०८२ असार १७ गते, मंगलवार ११:०६

वीरगन्ज –

वीरगन्जस्थित बाल सुधार गृहमा रहेका बालबालिकाहरूको हित र सुविधालाई ध्यानमा राख्दै सरोकारवालाहरूको बैठकले १३ बुँदे निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले बाल सुधार गृहको अवस्था सुधारका लागि महत्वपूर्ण कदमहरू चाल्ने निर्णय गरेको हो।

बैठकले गरेको निर्णयअनुसार, बाल सुधार गृह परिसरमा मर्मत गर्नुपर्ने संरचना र सामग्रीहरूलाई एक हप्ताभित्रै अद्यावधिक गरिनेछ। बालबालिकाहरूको लागि इन्टरनेट सुविधालाई अत्यावश्यक ठान्दै आजै वाईफाई जडान गरिने भएको छ भने ल्यापटप र कम्प्युटरहरूको तत्काल मर्मत सम्भार गरिनेछ।

बालबालिकाहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिँदै अबदेखि हप्ताको कम्तीमा एक पटक मनोसामाजिक परामर्श अनिवार्य रूपमा उपलब्ध गराउने निर्णय भएको छ। गर्मी मौसमलाई मध्यनजर गर्दै पंखा र खानेपानीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नेछ। साथै, क्षयरोगबाट सङ्क्रमित बालकको उपचारलगायतका समस्या समाधान गर्न वीरगन्ज महानगरपालिकासँग सहकार्य गरिनेछ।

बन्दीहरूलाई दिइने सीधावापतको रकम समयमै भुक्तानी गर्न बाल सुधार गृहले आवश्यक विवरण कारागार कार्यालयमा समयमै पेश गर्ने व्यवस्था मिलाइने भएको छ। बालबालिकाहरूको शिक्षालाई निरन्तरता दिन पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले सरोकारवालाहरूसँग समन्वय गरी उपलब्ध गराउनेछ।

ज्ञान आर्जनका लागि पुस्तकालय सञ्चालन गर्न बाल सुधार गृह प्रशासकले आवश्यक स्थानको प्रबन्ध मिलाउने भएका छन्। पढ्न इच्छुक बालबालिकाहरूका लागि तहगत रूपमा शिक्षकको व्यवस्था खुला विद्यालयमार्फत वीरगन्ज महानगरपालिकाले गर्नेछ।

खानेपानीको दीर्घकालीन समाधानका लागि बाल सुधार गृह नजिकैको डिप बोरिङबाट पाइप जडान गरी नियमित खानेपानीको व्यवस्था वीरगन्ज महानगरपालिकाले मिलाउने भएको छ। रातको समयमा बत्ती जाने समस्यालाई समाधान गर्न वैकल्पिक ऊर्जाको व्यवस्थापनका लागि वीरगन्ज उद्योग वाणिज्य संघसँग अनुरोध गरिनेछ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सीसीटीभी क्यामेरा जडानको व्यवस्था पनि वीरगन्ज महानगरपालिकाले गर्नेछ। आगामी दिनमा अनुगमन र निरीक्षणलाई व्यवस्थित बनाई अनाधिकृत व्यक्तिको प्रवेशलाई निरुत्साहित गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यी निर्णयहरूको कार्यान्वयनलाई प्राथमिकता दिइने र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको सुरक्षित तथा सहज जीवनयापनका लागि सबै आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “बालबालिकाको हित र सुधार नै हाम्रो मुख्य उद्देश्य हो, र यसका लागि सबै सरोकारवालाहरूको सहयोग अपरिहार्य छ।”

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस