काठमाडौं –
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नैतिक पतन देखिने कार्य गरेको तथ्य सार्वजनिक भएको छ। मन्त्रालयको लेटरहेड प्रयोग गरी कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरलाई लेखिएको पत्रमा पूर्वसांसद निर्जला राउतलाई मन्त्री भण्डारीकी पत्नीको रूपमा उल्लेख गरी स्पेनको भिसा सिफारिस गरिएको छ। तर, मन्त्री भण्डारी र राउतबीच विवाह भएको कुनै प्रमाण नभएको र भण्डारीले आफ्नी पत्नी रश्मी सिंह भण्डारीसँग सम्बन्धविच्छेद गरेको कुनै आधार नदेखिएकाले यो कार्य कानुनविपरीत र नैतिक रूपमा आपत्तिजनक मानिएको छ।
गत कात्तिकको अन्तिम साता मन्त्री भण्डारी स्पेनको मड्रिडमा आयोजित ‘टुवाड्र्स अ लेबर’ कार्यक्रममा सहभागी हुन जाने तयारीमा थिए। सोही कार्यक्रमका लागि मन्त्रीसहित मन्त्रालयका तीन कर्मचारी, दुई कर्मचारीका श्रीमती र पूर्वसांसद राउत गरी ६ जनाको भिसा सिफारिसका लागि कन्सुलर सेवा विभागलाई पत्र लेखिएको थियो। उक्त पत्रमा राउतलाई मन्त्रीकी श्रीमतीको रूपमा प्रस्तुत गरिएको छ। राउत सम्बन्धविच्छेद गरिसकेकी महिला भए पनि भण्डारीले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद नगरेको अवस्थामा राउतसँग विवाह गर्नु कानुनतः अपराध हो।
मन्त्री भण्डारी र राउतबीच सम्बन्ध रहेको चर्चा लामो समयदेखि चल्दै आए पनि विवाहको कुनै प्रमाण सार्वजनिक भएको छैन। यो घटनाले मन्त्री भण्डारीको नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ। प्रचलित कानुनअनुसार नैतिक पतन देखिने कार्य गर्ने व्यक्ति सार्वजनिक पदमा रहन अयोग्य हुन्छ। अदालतबाट दोषी ठहर हुन बाँकी भए पनि नैतिकताको प्रश्न उठेपछि मन्त्री भण्डारीले पद त्याग गरी कानुनी प्रक्रियाको बाटो खोल्नुपर्ने माग उठेको छ। तर, उनले हालसम्म पद छोड्ने संकेत गरेका छैनन्।
यस प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि प्रश्न उठाएको छ। संविधानअनुसार प्रधानमन्त्रीले मन्त्रीलाई पदमुक्त गर्न सक्ने अधिकार राख्छन्। तर, मन्त्री भण्डारीको कर्तुत सार्वजनिक भएपछि पनि ओलीले कुनै कारवाही नगरी हालै थाइल्याण्ड भ्रमणमा गएका छन्। मन्त्रिपरिषद्का कुनै सदस्यमाथि प्रश्न उठ्दा सरकारको नेतृत्वमाथि नै आशंका उत्पन्न हुने भएकाले ओलीको मौनताले थप विवाद निम्त्याएको छ।
मन्त्री भण्डारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सिफारिसमा मन्त्री बनेका हुन्। उनको यो कदमले लोसपा र अध्यक्ष महन्थ ठाकुरमाथि पनि प्रश्न उठेको छ। भण्डारी मन्त्री बन्दा ठाकुरकी छोरीमार्फत उनले लाभ लिएर मन्त्री पद हासिल गरेको चर्चा चलेको थियो। अहिले ठाकुरले भण्डारीलाई फिर्ता बोलाउने विषयमा मौन बस्दा उक्त आशंका बलियो बनेको छ। ठाकुरको मौनताले उनले व्यक्तिगत स्वार्थका लागि मन्त्री पद साटेको हुन सक्ने अनुमान गरिएको छ।
यो घटनाले मन्त्री भण्डारीको पदमा रहने वैधानिकता र नैतिकतामाथि गम्भीर संकट उत्पन्न गरेको छ। कानुनी कारवाही र राजनीतिक जवाफदेहिताको माग जोडतोडले उठ्न थालेको छ।















