२०८२ असार १७ गते, मंगलवार ००:५९

काठमाडौं–

थाइल्याण्डको बैंककमा आयोजित छैटौं बिमस्टेक शिखर सम्मेलनका दौरान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता हुने भएको छ। थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार स्थानीय समयअनुसार दिउँसो ४ बजे आधा घण्टाको लागि भेटघाट तय भएको बैंककस्थित नेपाली अधिकारीहरूले जनाएका छन्।

यो भेटवार्तालाई प्रधानमन्त्री ओलीको लामो समयदेखि प्रतिक्षित भारतको औपचारिक द्विपक्षीय भ्रमणको मार्ग प्रशस्त गर्ने अवसरका रूपमा हेरिएको छ। ओली पुनः प्रधानमन्त्री भएयता न त उनको भारत भ्रमण तय भएको छ, न त भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण नै सुनिश्चित भएको छ। गत भदौमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा नेपाल भ्रमणको निम्तो दिएकी थिइन्, तर दुवै देशका नेताबीच औपचारिक भ्रमणको टुंगो लाग्न सकेको छैन।

बिमस्टेक सम्मेलनको अवसरमा हुने यो भेटलाई दुई देशबीचको सम्बन्ध सुदृढीकरण र द्विपक्षीय मुद्दाहरूमा छलफलको आधार मानिएको छ। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटलाई विशेष महत्त्व दिइए पनि प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा अन्य बिमस्टेक नेताहरूसँग पनि साइडलाइन भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच लामो समयदेखि विभिन्न विषयमा छलफल र सहकार्यको अपेक्षा गरिएकाले यो भेटले दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ गति प्रदान गर्ने विश्वास लिइएको छ। बिमस्टेक क्षेत्रीय सहयोगको मञ्च भए पनि ओली र मोदीबीचको भेटले नेपाल–भारत सम्बन्धमा विशेष ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस