वीरगन्ज –
नेकपा एमालेले गणतन्त्रको समर्थन जुटाउन र राजतन्त्रको विरोधमा वीरगन्जमा बुधबार शक्ति प्रदर्शन गरेको छ। राजावादी गतिविधिविरुद्ध खबरदारी गर्न भन्दै एमालेले बृहत् मोटरसाइकल जुलुस निकालेर कोणसभासहित आफ्नो प्रभाव देखाएको हो।
वीरगन्जको पावरहाउस चोकबाट सुरु भएको मोटरसाइकल जुलुस मुर्ली, घण्टाघर, रेल्वेरोड, छपकैया, आदर्शनगर र घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा एमालेका नेताहरूले राजतन्त्र फर्काउने प्रयासविरुद्ध कडा चेतावनी दिएका छन्।

कोणसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद प्रभु हजराले पछिल्लो समय राजावादीहरू सल्बलाउन थालेको भन्दै उनीहरूलाई खबरदारी गर्न सडकमा शक्ति प्रदर्शन गर्नुपरेको बताए। उनले भने, “पहिले दरबारमा गएर पूर्वराजाको हड्डी चुस्न पल्किएका मुठ्ठीभर तत्वहरू अहिले राजतन्त्र फर्काउन खोज्दैछन्। म पूर्वराजालाई चेतावनी दिन्छु– सावधान होऊ। उक्साहटमा परेर धेरै चुर्पफुर गर्यौ भने नेपाली जनताले तिमीलाई सडकमा ल्याएर भकुण्डो खेलाएजस्तै खेलाउनेछन्।” हजराले नेपाली जनता गणतन्त्रको पक्षमा दृढ रहेको र राजावादीको भुलभुलैयामा नपर्ने दाबी गरे।
यस्तै, एमाले केन्द्रीय कमिटी सल्लाहकार जालिम मियाँले पूर्वराजा र राजावादीहरूलाई समयमै सचेत हुन चेतावनी दिँदै भने, “अझै समय छ, पूर्वराजा औकातमा बस। नत्र नारायणहिटीबाट निर्मल निवाससम्म जनताले लखेटिसकेका छन्। अब फेरि त्यहाँबाट पनि अन्त लखेट्नुपर्ने दिन नआओस्।”
कार्यक्रमको अध्यक्षता एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले गरेका थिए भने कोणसभालाई संविधानसभा सदस्य विचारी यादवसहितका नेताहरूले पनि सम्बोधन गरेका थिए। एमाले जिल्ला सचिव महेश दासका अनुसार यो शक्ति प्रदर्शनले गणतन्त्रप्रति पार्टीको प्रतिबद्धता र राजावादी गतिविधिविरुद्ध जनमत सिर्जना गर्ने उद्देश्य राखेको छ।
यो प्रदर्शनले वीरगन्जमा एमालेको संगठनात्मक शक्ति र गणतन्त्रको पक्षमा जनमत बलियो रहेको सन्देश प्रवाह गरेको स्थानीय नेताहरूको भनाइ छ।