काठमाडौं–
नेपाल प्रहरीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली चलाउनुपरेको घटनाबारे स्पष्टीकरण दिएको छ। प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिकिर गरेको छ।
बुधबार प्रहरी क्लब भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले घटनाको विवरण सार्वजनिक गरे। उनले चैत १५ गते दिउँसो २:५४ बजे प्रहरीले गोली चलाएको बताउँदै अवस्था नियन्त्रण बाहिर गएपछि यस्तो कदम चाल्नुपरेको दाबी गरे। “सबै उत्तेजित भिडका कारण घटेको घटना हो। अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो,” डीआईजी आचार्यले भने।

राजावादीहरूले आयोजना गरेको उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको पोस्टमार्टमले पुष्टि गरेको छ भने कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो। घटनापछि प्रहरीमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।
प्रहरीको यो स्पष्टीकरणले घटनाको विवादलाई थप चर्काउने देखिएको छ। एकातिर पीडित परिवार र अधिकारकर्मीहरूले प्रहरीको कदमको विरोध गरिरहेका छन् भने अर्कोतिर प्रहरीले आफ्नो कदमलाई जायज ठहराउने प्रयास गरेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग पनि उठिरहेको छ।