२०८२ भाद्र १ गते, आईतवार २२:३९

काठमाडौँ –

तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ। एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरूले पछिल्ला दिनमा सघन छलफल तीव्र बनाएका छन्। राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउन दुवै पार्टीलाई एकीकृत गर्ने पहल भइरहेको नेताहरूले बताएका छन्।

दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलहरूले विभिन्न चरणमा बैठकहरू गरी सहमतिको आधार पहिल्याउन कसरत गरिरहेका छन्। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आगामी वैशाख १५ भित्रै एकीकरणको घोषणा गर्ने गरी छलफल भइरहेको जानकारी दिए। “नयाँ पार्टीको नाम, झण्डा र चुनाव चिह्न ‘फाइनल’ भइसकेको छ। हाल विधान लेखनको काम चलिरहेको छ भने पदाधिकारी टुङ्ग्याउन बाँकी छ,” कार्यदल संयोजकसमेत रहेका खानले भने। उनका अनुसार वैशाख पहिलो सातामा दुवै पार्टीको केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिनेछ र दोस्रो सातामा एकीकरण घोषणा हुने तयारी छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि एकीकरण प्रक्रिया चाँडै टुङ्ग्याउने गरी कार्यदल तहमा छलफल भइरहेको बताइन्। “कार्यदलको निचोडलाई आधार मानेर शीर्ष नेतृत्वले एकीकरणलाई अन्तिम रूप दिनेछ,” उनले भनिन्। जनमत पार्टीका प्रवक्ता डा. शरद् सिंह यादवले पार्टीको नाम, नेतृत्व र पदाधिकारीमा मोटामोटी सहमति भइसकेको दाबी गरे। “बाँकी विषयलाई कार्यदलले चाँडै टुङ्ग्याएर एकीकरण प्रक्रिया पूर्णता पाउनेछ,” उनले भने।

प्रारम्भिक समझदारीअनुसार एकीकृत पार्टीको अध्यक्षमा जनमतका सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ रहने नेताहरूको भनाइ छ। जनमतले गत फागुनमा उपाध्यक्ष खानको संयोजकत्वमा डा. यादव र बाल गोविन्द चौधरी सम्मिलित कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्तिले हालै गङ्गाराम चौधरीको संयोजकत्वमा सुनिता चौधरी र रामलाल डगौरा थारू रहेको कार्यदल बनाएको छ।

एकीकरणपछि पहिचानवादी शक्ति र आदिवासी जनजाति समुदायका मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा डा. यादवले व्यक्त गरे। विसं २०७५ मा स्थापित जनमत र विसं २०७८ मा गठन भएको नागरिक उन्मुक्तिले २०७९ को निर्वाचनमा क्रमशः छ र चार सांसद जितेका थिए। दुई महिनादेखि तीव्र रूपमा अघि बढेको यो एकीकरणले तराई–मधेसको राजनीतिमा नयाँ शक्ति उदाउने संकेत गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस