वीरगन्ज–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका नेता जलेशवर सरार्फले आमरण अनसन बस्ने घोषणा गरेका छन् । राप्रपा पर्साको जिल्ला कार्यसमितिप्रति असन्तुष्टि जनाउँदै उनले यो कदम चाल्न लागेका हुन् । सरार्फले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी दिँदै पार्टीको जिल्ला नेतृत्वले समयमै सुधार नगरे गम्भीर कदम चाल्न बाध्य हुने बताएका छन् ।
नेता सरार्फका अनुसार, राप्रपा पर्साको कार्यशैली र गतिविधिप्रति आमसर्वसाधारणको चासो घट्दै गएको छ । जिल्ला कार्यसमितिका पदाधिकारीहरूले पार्टीप्रति चासो नदेखाएको र कार्यकर्ता तथा समुदायको अपेक्षा पूरा गर्न नसकेको गुनासो बढिरहेको उनले उल्लेख गरेका छन् । यी समस्याहरू पटकपटक केन्द्रीय नेतृत्वसमक्ष राख्दा पनि कुनै सुनुवाइ नभएको भन्दै उनी निराश बनेका छन् । “यी समस्याको समाधानका लागि म आमरण अनसनमा बस्न बाध्य भएको छु,” सरार्फले भनेका छन् ।

उनले देश र जनताले परिवर्तन खोजिरहेको र परिवर्तनको सँघारमा पुगिसकेको अवस्थामा राप्रपाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । तर, सरकारले राप्रपाका महामन्त्री धवलशम्शेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित दर्जनौँ नेता–कार्यकर्तालाई झूटा मुद्दा लगाएर नियन्त्रणमा लिएको भन्दै उनले आक्रोश व्यक्त गरे । यी नेताहरूको रिहाइका लागि राप्रपालगायत राष्ट्रवादी शक्तिहरू आन्दोलनमा उत्रिएको उनले स्मरण गराए । तर, पर्सामा भने जिल्ला कार्यसमितिले आन्दोलनमा कुनै सहभागिता नजनाएको र आफूसहित केही नेताहरू मात्र सक्रिय रहेको उनको गुनासो छ । “राप्रपा पर्सालाई असफल बनाउने षड्यन्त्र भइरहेको हो कि भन्ने चिन्ता छ,” सरार्फले भने ।
राप्रपाको हालको महाअभियान गणतन्त्र विस्थापन गरी राजसंस्थालाई अभिभावकीय भूमिकामा स्थापित गर्न केन्द्रित रहेको उनले बताए । यही अभियानको अवधिभर राप्रपा पर्साका अध्यक्षलाई आफ्नो आचरण सुधार्ने मौका दिएको र आन्दोलनको टुङ्गो लागेपछि जवाफदेही बन्नुपर्ने उनको चेतावनी छ । “जिल्ला कार्यसमितिले आन्दोलनका कार्यक्रम सार्वजनिक नगरे यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हुनेछ,” सरार्फले भनेका छन् ।
यो घोषणाले राप्रपा पर्साभित्रको आन्तरिक विवाद र नेतृत्वप्रतिको असन्तुष्टिलाई सतहमा ल्याएको छ । आगामी दिनमा यो विषयले कस्तो मोड लिन्छ, त्यो भने हेर्न बाँकी छ ।