२०८२ बैशाख १३ गते, शनिबार २३:१४

काठमाडौं-

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्किएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले उनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य र पार्टीको उपाध्यक्ष पदमा मनोनीत गरेको छ। यो निर्णय गत चैत १९ गते बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गरेको हो।

पुनको राजनीतिक पुनरागमनको संकेत गत फागुनको तेस्रो साता बसेको माओवादी केन्द्रीय समिति बैठकमा देखिएको थियो, जहाँ उनी आमन्त्रित अतिथिको रूपमा सहभागी भएका थिए। पार्टीले उनको उपाध्यक्ष पदमा मनोनयनको निर्णयलाई तल्लो कमिटीसम्म सर्कुलर गरिसकेको छ।

दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका पुनको पछिल्लो राजनीतिक सक्रियताले समर्थन र आलोचनालाई एकसाथ जन्माएको छ। कतिपयले उनको अनुभव र नेतृत्वले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् भने केहीले यसलाई पुरानै अनुहारको पुनरावृत्तिको रूपमा आलोचना गरेका छन्।

माओवादी केन्द्रका एक नेताले पुनको मनोनयनलाई पार्टीभित्रको आन्तरिक एकता र संगठन विस्तारको रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन्। पुनले भने आफू जनताको सेवा र पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउँदै आएका छन्। उनको यो पुनरागमनले माओवादीको आगामी रणनीति र नेतृत्व संरचनामा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस