२०८२ असार १७ गते, मंगलवार ०१:३६

काठमाडौं –

खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकले वर्षौंदेखि भोग्दै आएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि पहल भइरहेको बताएका छन्। आइतबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजनको मागसहित मागपत्र पेश गरेपछि मन्त्री यादवले यस्तो आश्वासन दिएका हुन्।

मन्त्री यादवले भने, “धरानका नागरिकको खानेपानी समस्याबारे म र सम्पूर्ण मन्त्रालय जानकार छौं। हामी त्यहाँको समस्या दीर्घकालीन रूपमा समाधान गर्न लागिपरेका छौं। यो समस्या हल गर्छौं।” उनले धरानको खानेपानी समस्याबारे पहिलेदेखि नै जानकारी रहेको उल्लेख गर्दै दातृ निकायको सहयोगमा समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे।

नगरप्रमुख साम्पाङ नेतृत्वको प्रतिनिधिमण्डलले आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानको खानेपानी समस्या समाधानका लागि बजेट विनियोजन गर्न माग गर्दै मन्त्री यादवलाई मागपत्र बुझाएको थियो। प्रतिनिधिमण्डलले धरानमा खानेपानीको चरम अभाव रहेको र विशेष ध्यान दिनुपर्ने अवस्था आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

नगरप्रमुख राईले गर्मी मौसम सुरु भएसँगै धरानमा खानेपानीको संकट झनै गहिरिएको बताए। उनले भने, “पानीको समस्या पहिलेदेखि नै थियो, तर अहिले गर्मी बढेसँगै झनै काकाकुल अवस्था सिर्जना भएको छ। नागरिकले निकै दुःख पाइरहेका छन्। स्थायी समाधानका लागि बजेट माग गरेका हौं।”

धरानमा लामो समयदेखि खानेपानीको समस्या रहँदै आएको छ। गर्मी मौसममा पानीको अभावले स्थानीय बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ। मन्त्रालयले दातृ निकायसँगको सहकार्यमा यो समस्याको समाधान खोज्ने बताए पनि ठोस कार्ययोजना र बजेट विनियोजनको पर्खाइमा धरानवासी रहेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस