भैरहवा –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि भैरहवा कारागार चलान गरिएको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि उनलाई सोमबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराई जिल्ला कारागार भैरहवामा पठाइएको हो।
कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ। उनलाई एक थान झुल, एक थान बाल्टिन, एक थान मेट्रेस, टेबल पंखालगायत आवश्यक सामग्री उपलब्ध गराइएको स्रोतले बताएको छ।

उच्च अदालतले शुक्रबार जिल्ला अदालत रूपन्देहीको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो। यसअघि जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराध मुद्दामा उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो। तर, सरकारी वकिल कार्यालयले थुनामै राख्नुपर्ने माग गर्दै फागुन २२ गते उच्च अदालतमा निवेदन दिएको थियो। लामिछानेले पनि फागुन २६ गते जिल्लाको धरौटी आदेश खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा १ अर्ब ४३ करोड ८६ लाख २ हजार १३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ। माघ १३ गते जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेको थियो।
उच्च अदालतको पछिल्लो आदेशपछि काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोमबार भैरहवा कारागारमा चलान गरिएको हो। यो प्रकरणले सहकारी ठगी मुद्दामा ठूला नेताहरूमाथिको कारबाहीमा नयाँ बहस सुरु गरेको छ।