२०८२ असार १७ गते, मंगलवार १३:०५

वीरगन्ज-

केही दिनअघि अमेरिकाको ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले नेपालको साइबर ब्युरोलाई एउटा सूचना पठायो। हराएका तथा जोखिममा परेका बालबालिकाको हकहितका लागि काम गर्ने संस्था नेकमेकले नेपालका एक व्यक्तिको गुगल ड्राइभमा बालिकालाई करणी गरेको भिडिओ अपलोड भएको पत्ता लगाएको थियो। भिडिओमा देखिएकी बालिका समस्यामा परेको पहिचान गर्दै नेकमेकले ब्युरोलाई साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ मार्फत उक्त सूचना पठाएको थियो।

घटनालाई प्रमाणित गर्ने कागजात, आरोपीको मोबाइल नम्बर र जिमेल अकाउन्ट जस्ता विवरण पाएपछि साइबर ब्युरोको टोलीले विस्तृत अनुसन्धान थाल्यो। अनुसन्धानका क्रममा उक्त मोबाइल नम्बर र जिमेल अकाउन्ट वीरगञ्जका एक व्यक्तिले चलाएको फेला परेपछि इन्सपेक्टर नेतृत्वको टोली २२ चैतमा वीरगञ्ज पुगेको थियो।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले गोप्यखबरसँग कुरा गर्दै भने, “हामीले त पहिले ती व्यक्तिले अरूको भिडिओ आफ्नो ड्राइभमा राखेका होलान् भन्ने अनुमान गरेका थियौं। तर, हामीले ती व्यक्तिलाई पक्राउ गरेपछि जे कल्पना गरेका थिएनौं त्यही देखियो।”

वास्तवमा करणी गर्ने बालिकाका सौतेनी बुबा थिए। यो प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जानकारी प्रहरीले दिएको छ।

प्रहरी नायब उपरीक्षक लम्सालले थप जानकारी दिँदै भने, “मुस्लिम समुदायका रहेछन्। नाबालिकाको जन्मदर्ता नै बनाएको रहेनछ। कतिबेला आफ्नै छोरी भन्छन्, कतिबेला अरूको छोरी पालेको भन्छन्, कतिबेला श्रीमतीको पूर्वपतिको छोरी भन्छन्, आमाले पनि वास्तविक कुरा भनेकी छैनन्। हामी काउन्सिलिङ गरिरहेका छौं।”

प्रहरीले नाबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको छ। नाबालिकाको तर्फबाट जाहेरी दिने कोही नभएपछि प्रहरीले आफैँले जाहेरी दिएर थप अनुसन्धान गरिरहेको छ। बुबा नाता पर्ने आरोपी व्यक्तिले नाबालिकालाई करणी गरेको भिडिओ खिचेर फोनमा राखेको र उक्त भिडिओ स्वतः गुगल फोटोजमा भण्डारण भएपछि नेकमेकको सिस्टमले पहिचान गरेको बताइएको छ।

आरोपी व्यक्तिलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर दुईवटा कसुरमा अनुसन्धान भइरहेको छ। उनीमाथि करणीसम्बन्धी कसुर र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस