काठमाडौँ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो आणविक कार्यक्रममा प्रत्यक्ष उच्चस्तरीय वार्ताको घोषणा गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा भएको भेटघाटको क्रममा यो घोषणा आएको हो ।
उहाँले आगामी शनविार धेरै उच्चस्तरीय अधिकारीहरू सम्मिलित ठूलो बैठक हुने कुरा पनि खुलासा गर्नुभयो । ट्रम्पले आफूहरु इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको बताउनु भयो । वार्ता सफल हुने र सफल भएको खण्डमा इरानको सर्वोत्तम हित हुने जिकिर गर्नुभयो ।

ट्रम्पको यो घोषणा महिनौंदेखि इरानमाथि बढ्दो दबाबपछि आएको हो । जसमा तेल निर्यातमा कडा प्रतिवन्ध र सैन्य कारबाहीको धम्की समावेश छ । जबकि इरानका सर्वोच्च नेता अली खामेनीले ट्रम्पले आफ्नो अधिकतम दबाब नीति कायम राखेसम्म संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरालाई अस्वीकार गर्नुभएको छ ।
घोषणामा उपस्थित नेतान्याहूले वार्ताको बारेमा शंका व्यक्त गर्नुभयो । इरानले अझै वार्तामा आफ्नो सहभागिता पुष्टि गरेको छैन ।