काठमाडौं –
शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई गोंगबु क्षेत्रबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भइरहेको छ।

यसअघि, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का पनि सोही प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेर हिरासतमा छन्। चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि कडा निगरानी र कारबाही सुरु गरेको थियो।
प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको छ भने हिंसात्मक गतिविधिमा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने क्रम जारी रहेको जनाइएको छ। यो पक्राउले शाही युवा शक्ति नेपालको गतिविधिमाथि थप प्रश्न उठाएको छ।