काठमाडौं-
आम जनता पार्टी (आजपा) ले गणतन्त्र दिवसकै दिन आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ। “नक्कली गणतन्त्रवादीहरूलाई सिंहदरबारबाट निकाल्ने” नारा सहित आजपाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो।
आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो। बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान व्यवस्था पूर्ण रूपमा असफल भएको भन्दै “नक्कली गणतन्त्रवादीहरूलाई तह लगाउन” सिंहदरबार घेराउ गर्नुपर्ने बताए। उनले ओली सरकार र “दलाल दलतन्त्र” को देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने योजना पनि सुनाए।

आजपाका महासचिव त्रिभुवन साहका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत जिल्ला-जिल्लामा सर्वपक्षीय भेला गरी जनआन्दोलन परिचालन समिति गठन गरिनेछ। यी समितिमार्फत सरकार र “लुटकारी दलतन्त्र” विरुद्ध भण्डाफोर अभियान चलाउने उनले बताए। गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते सिंहदरबार घेराउ गरी “दलतन्त्रवादीहरूलाई निकाल्ने” लक्ष्य राखिएको छ।
बैठकले चैत २४ गते काठमाडौंमा आयोजित प्रदर्शन र सभालाई उत्साहजनक सहभागितासहित सफल भएको निष्कर्ष निकालेको छ। आजपा प्रवक्ता चन्द्रभूषण साहले उक्त कार्यक्रमलाई सफल बनाउन भौतिक, आर्थिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको जानकारी दिए।
यसैबीच, बैठकले पार्टीको हित र विधानविपरीत कार्य गरेको भन्दै वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
भ्रष्टाचार, कुशासन, बैदेशिक रोजगार ठगी, सरकारको मनमानी कर नीति र अनियमितताविरुद्ध संघर्षरत आजपाले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ। यो आन्दोलनले देशव्यापी समर्थन पाउने अपेक्षा गरिएको छ।