२०८२ असार १६ गते, सोमबार १९:५५

 काठमाडौँ-

आजको प्रविधिको युगमा स्मार्टफोन र कम्प्युटर जस्ता उपकरणको प्रयोग स्वाभाविक रूपमा तीव्र गतिमा बढिरहेको छ, तर यसको लतले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। हालैको एक अध्ययनले देखाएको छ कि सुत्नुअघि एक घण्टा स्मार्टफोन, टिभी वा कम्प्युटरमा बिताउँदा अनिद्राको जोखिम करिब ३० प्रतिशतले बढ्न सक्छ। नर्वेमा १८ देखि २२ वर्ष उमेर समूहका १२ हजारभन्दा बढी विद्यार्थीमाथि गरिएको यो अध्ययनले यो पनि पत्ता लगाएको छ कि यसले निद्राको समय करिब आधा घण्टा कम गर्न सक्छ।

फ्रन्टियर्स इन साइकियाट्री जर्नलमा प्रकाशित यो अध्ययनका मुख्य लेखक तथा नर्वेजियन इन्स्टिच्युट अफ पब्लिक हेल्थका गुन्नहिल्ड जोनसन हेटल्यान्डले भने, “तपाईंले सामाजिक सञ्जालमा समय बिताउनुहोस् वा रिल्स वा ओटीटी प्लेटफर्ममा, त्यसले फरक पार्दैन। फरक त सुत्ने बेलामा स्क्रिनबाट निस्कने निलो प्रकाशमा बिताएको कुल समय अर्थात् स्क्रिन टाइमले पार्छ।”

हेटल्यान्डका अनुसार, विद्यार्थीहरूमा निद्राको समस्या सामान्य भए पनि तथ्याङ्कले देखाउँछ कि ओछ्यानमा गएपछि एक घण्टासम्म स्क्रिनमा समय बिताउँदा अनिद्राका लक्षणहरू ४५ प्रतिशतले बढ्ने सम्भावना हुन्छ र निद्राको अवधि पनि ३० मिनेटसम्म कम हुन सक्छ।

 स्क्रिन टाइमको असर

स्क्रिन टाइम भन्नाले स्मार्टफोन, कम्प्युटर, टिभी वा ट्याब्लेट जस्ता स्क्रिन भएका उपकरण प्रयोगमा बिताएको समय बुझिन्छ। अध्ययनअनुसार, स्क्रिन टाइम जति बढी हुन्छ, निद्रा त्यति नै प्रभावित हुन्छ।

अध्ययनकर्ताहरूले सुत्नुभन्दा कम्तीमा एक घण्टाअघि मोबाइल वा अन्य उपकरणको प्रयोग नगर्न सुझाव दिएका छन्।

 ओछ्यानमा मोबाइल चलाउँदा हुने हानि
– निद्रामा खलल पुग्छ।
– निद्राको ढाँचा बिग्रिन्छ।
– निद्राको गुणस्तर खराब हुन्छ।
– शरीरको आन्तरिक घडी अर्थात् सर्काडियन रिदम प्रभावित हुन्छ। यो घडीले तपाईं कहिले सबैभन्दा सचेत हुने र कहिले सुत्न तयार हुने भनेर निर्धारण गर्छ।

 सुझाव
– सुत्नुअघि एक घण्टा मोबाइललाई टाढा राख्नुहोस्।
– ब्लु लाइट फिल्टर प्रयोग गर्नुहोस्।
– राति किताब पढ्ने वा ध्यान गर्ने गर्नुहोस्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस