२०८२ असार १७ गते, मंगलवार ०१:१५

वीरगन्ज –

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट नजिकैको सडकखण्डमा प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा लागु औषध गाँजा जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान ११:५० बजे जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका शंकास्पद व्यक्तिहरूलाई रोकेर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पर्सागढी नगरपालिका वडा नं. ३ झबराहा बस्ने २९ वर्षीय पंचलाल माझीको शरीरमा टेपले बेरेर लुकाइएको २ किलो ८७५ ग्राम र सोही ठाउँ बस्ने २१ वर्षीय मुकेश माझीको सर्टमुनि सेतो टेपले बेरेर लुकाइएको २ किलो ८७५ ग्राम लागु औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यस्तै, सोही गाउँका ४४ वर्षीय सुनिल बम्जन पनि संलग्न रहेको भन्दै तीनै जनालाई नियन्त्रणमा लिइएको छ।

बरामद भएको कुल ५ किलो ७५० ग्राम लागु औषधसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। प्रहरीले निजहरूविरुद्ध लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको छ।

पक्राउ परेका तीनै जना पर्सागढी नगरपालिका–३ झबराहा निवासी रहेको र उनीहरूले लागु औषध भारततर्फ लैजान खोजेको प्रहरीको प्रारम्भिक अनुमान छ। यो घटनाले सीमा क्षेत्रमा लागु औषधको ओसारपसारमा कडाइ गर्नुपर्ने आवश्यकता फेरि एकपटक उजागर गरेको छ। प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस