२०८२ भाद्र १ गते, आईतवार ००:५९

काठमाडौं-

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै आफ्नो विजयी लय कायम राखेको छ । आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटको फराकिलो अन्तरले हराएको थियो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले शानदार ब्याटिङ गरे । कुशलले ५० बलमा ६ चौका र ६ छक्कासहित ८१ रनको अर्धशतकीय पारी खेले भने आशिफले ३८ बलमा ४ छक्काको मदतले ५३ रन जोडे ।

दुवै ओपनर आउट भएपछि खेल कुवेतको पक्षमा मोडिएको थियो । तर, दीपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रनको विस्फोटक पारी खेल्दै नेपाललाई जितको नजिक पुर्‍याए । त्यसपछि क्रिजमा आएका गुलसन झाले ३ बलमा २ चौकासहित ९ रन जोडेर खेल टुंग्याए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले कुवेतलाई २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रनमा रोकेको थियो । कुवेतका ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन बनाए भने रविजा सन्दारुवानले १५ बलमा २६ रन जोडे । मिट भावासरले ३५ रन र विलाल ताहिरले १३ बलमा ४ छक्कासहित ३२ रन बनाए । कप्तान मोहम्मद अस्लाम भने १७ रनमा आउट भए ।

नेपालको बलिङमा सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट हात पारे । कुशल भुर्तेल र ललित राजवंशीले समान १–१ विकेट लिए ।

यो सिरिजको तेस्रो खेल हो । चारदेशीय टी–२० आई सिरिजमा प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । लगातार दुई जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस