२०८२ असार १७ गते, मंगलवार ०७:२१

रौतहट–

रौतहट जिल्लामा आगलागीका कारण दुई जनाको ज्यान गएको छ भने २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि चैत २५ गतेसम्म जिल्लामा ११४ वटा आगलागीका घटना घटेका छन्।

प्रहरीका अनुसार आगलागीका घटनामा दुई महिलाको मृत्यु भएको छ भने ८ जना पुरुष, १ जना बालक घाइते भएका छन्। यस्तै, आगलागीमा परेर १९ वटा चौपायाको जलेर मृत्यु भएको छ भने २५ वटा चौपाया घाइते भएका छन्।

आगलागीबाट ८ वटा पक्की घर, १६ वटा कच्ची घर, १५ वटा गोठ र १ वटा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको प्रहरीले जनाएको छ। यी घटनाबाट ५०१ जना प्रभावित भएका छन्। आगो नियन्त्रणका लागि ५६२ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए।

चालु आर्थिक वर्षको साउनदेखि फाल्गुनसम्मको अवधिमा आगलागीबाट १ करोड ९७ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। यद्यपि, चैतसम्मको कुल क्षति २ करोड नाघेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी प्रमुख घिमिरेले सुख्खा मौसमको आगमनसँगै आगलागीको जोखिम बढेको भन्दै आगोको प्रयोगमा सावधानी अपनाउन आग्रह गरेका छन्। “गर्मीको समयमा जथाभावी आगोको प्रयोगले जनधनको ठूलो क्षति हुने जोखिम छ। त्यसैले आगो सावधानीपूर्वक प्रयोग गर्न सबैमा अनुरोध छ,” उनले भने।

आगलागीका घटना नियन्त्रण गर्न स्थानीय प्रशासन र प्रहरीले सचेतनामूलक कार्यक्रमलाई पनि तीव्रता दिइरहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस