काठमाडौँ –
सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुरका २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–४, शान्तपूर्व मार्गका बासिन्दा अधिकारीलाई मंगलबार साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, सामाजिक सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी एक युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो दुरुपयोग गरी अधिकारीले पीडितलाई ब्ल्याकमेल गरेको उजुरी परेको थियो। सम्बन्ध टुटेपछि प्रेमीको साथीसमेत रहेका अधिकारीले उक्त भिडियो प्रयोग गरी पीडितसँग पैसा माग्ने, आपत्तिजनक शब्द प्रयोग गरी शारीरिक सम्बन्धको प्रस्ताव राख्ने र नमाने भिडियो सामाजिक सञ्जालमा राखेर भाइरल बनाइदिने धम्की दिएको पीडितको उजुरीमा उल्लेख छ। यस्ता कार्यले पीडितलाई मानसिक तनाव र हैरानी दिएको बताइएको छ।

उजुरीका आधारमा साइबर ब्यूरोले अनुसन्धान गरी अधिकारीलाई पक्राउ गरेको हो। उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी यस्ता आपराधिक गतिविधि गर्नेलाई कडाइका साथ कारबाही गर्ने नीति लिएको बताएको छ।