२०८२ असार १७ गते, मंगलवार १२:५९

वीरगन्ज-
बिगत ५० वर्षदेखि बस व्यवसायमा सक्रिय ओम बिनायक ट्राभल्सले आफ्नो स्वर्ण जयन्तीको अवसरमा शुक्रबार थप दुई वटा आधुनिक सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको छ।

कलैया–वीरगन्ज–काठमाडौँ र वीरगन्ज–नारायणघाट रुटमा सेवा प्रदान गर्दै आएको ट्राभल्सले टाटा कम्पनीको एलपिओ १५१५/५५ बीएस४ ब्रान्डका बसहरू सञ्चालनमा ल्याएको हो। वीरगञ्जको बहुअरीस्थित सिप्रदी प्रा.लि.मा आयोजित विशेष समारोहमा ५० वटा बेलुन उडाएर बसको शुभारम्भ गरिएको थियो।

कार्यक्रममा बारा क्षेत्र नं. १ का सांसद एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, मधेश प्रदेश ट्राफिक प्रहरीका उपरीक्षक भीमकिरण बोगटी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठलगायतले संयुक्त रूपमा बेलुन उडाएर बसको उद्घाटन गरे।

आधुनिक सुविधासहितको बस
ओम बिनायक ट्राभल्सका सञ्चालक अच्युत पौडेलले यात्रालाई आरामदायी र सुरक्षित बनाउने उद्देश्यले यी बसहरू सञ्चालनमा ल्याइएको बताए। ३५ सिट क्षमताका यी बसहरूमा २×२ मोटराइज्ड सिट, यूएसबी चार्जर, सिट बेल्ट, रिडिङ लाइट, कप होल्डर, आर्मरेस्ट, सामान राख्ने डिक्की, सेन्ट्रलाइज्ड एसी र एलईडीजस्ता सुविधाहरू समावेश छन्। पौडेलले मधेश प्रदेशमा सञ्चालित बसहरूमध्ये यी सबैभन्दा आरामदायी भएको दाबी गरे।

५० वर्षको गौरवमय यात्रा
वि.सं. २०३१ मा पौडेलका हजुरबुबाले भारतको पञ्जाबबाट बस खरिद गरी सुरु गरेको यो व्यवसायले ५० वर्ष पूरा गरेको छ। शुरुदेखि नै टाटा मोटर्ससँग सहकार्य गर्दै आएकोमा सिप्रदीले सञ्चालक पौडेललाई सम्मान गरेको छ। सिप्रदीका प्रमुख प्रबन्धक इन्द्रमणी पोखरेलले टाटाप्रति ट्राभल्सको निरन्तर विश्वासको प्रशंसा गरे।

तीन पुस्ताको विरासत
अच्युत पौडेल ओम बिनायक ट्राभल्सको तेस्रो पुस्ताका सञ्चालक हुन्। उनका हजुरबुबाले ट्रकबाट सुरु गरेको व्यवसायलाई उनका बुबा अशोक पौडेलले बस सञ्चालनमार्फत निरन्तरता दिए। सञ्चार उद्यमीसमेत रहेका अच्युतले यो विरासतलाई आधुनिकीकरण गर्दै सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। हाल ट्राभल्ससँग १० वटा बस सञ्चालनमा छन्।

सामाजिक उत्तरदायित्व
पौडेलले सामाजिक कार्यमा समेत योगदान पुर्‍याउँदै आएका छन्। क्यान्सर पीडितका लागि निःशुल्क बस सेवा, अति विपन्न परिवारका छोरीको विवाहमा आर्थिक सहयोग र गढीमाई मेलामा दर्शनार्थीका लागि निःशुल्क बस सेवा सञ्चालन उनको सामाजिक योगदानका उदाहरण हुन्।

सम्मान र शुभकामना
५० वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सांसद मैनालीले पौडेलको लगनशीलताको प्रशंसा गर्दै व्यवसायको सफलताले मधेशको यातायात क्षेत्रमा नयाँ आयाम थपेको बताए। पौडेलले आफ्नो सम्बोधनमा चालकको छोरा पनि साहु बन्न सक्ने उदाहरण प्रस्तुत गर्दै इमानदारी र मेहनतको महत्त्व जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सिप्रदीका सहायक महाप्रबन्धक कृष्णा चन्दलगायतले शुभकामना व्यक्त गरे। समारोहमा पर्सा र बाराका प्रशासनिक अधिकारी, प्रहरी, पत्रकार महासंघका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रदीप गौतमले गरेका थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस