वीरगन्ज-
वीरगन्जका होटल, रेस्टुरेन्ट, मादक पदार्थ पसल र फलफूल पसललगायत व्यवसायिक क्षेत्रमा बालश्रममा लगाइएका १७ जना बालकको उद्धार गरिएको छ। गैरसरकारी संस्था सानो पाइलाले ‘बालश्रमिकको उद्धार तथा दीगो व्यवस्थापन अभियान’अन्तर्गत बुधबारदेखि सुरु गरेको उद्धार कार्यको पहिलो दिन यी बालकहरूलाई मुक्त गरिएको हो।
सानो पाइलाका प्रेस संयोजक विवेक कर्णका अनुसार, वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा र श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको सहयोगमा ८ देखि १५ वर्ष उमेर समूहका १७ बालकको उद्धार गरिएको छ। उद्धार गरिएका बालकहरूले बिहानदेखि मध्यरातसम्म कठिन परिश्रम गर्नुपरेको गुनासो गरेका छन्।
उद्धार गरिएका १७ मध्ये १२ जना बालकलाई बिहीबार अभिभावकको जिम्मा लगाइएको छ। अभिभावकहरूले आइन्दा बालश्रममा नलगाउने प्रतिबद्धता जनाएका छन्। बाँकी ५ जना बालक, जसको परिवारको पहिचान हुन नसकेको छ, उनीहरूलाई सानो पाइलाले वीरगञ्जमा सञ्चालित ‘सानो घर’ बालगृहमा आश्रय दिइएको कर्णले बताए।

सानो पाइलाले वीरगन्ज महानगरपालिकालाई बालश्रममुक्त महानगर घोषणा गर्ने लक्ष्यसहित यो अभियान सुरु गरेको छ। अभियानअघि संस्थाले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न व्यवसायिक क्षेत्रमा कानुनविपरीत बालबालिकालाई श्रममा लगाइएको पाइएको थियो। कर्णले भने, “उद्धार गरिएका बालबालिकाको बालअधिकार संरक्षण गर्दै उनीहरूको पालनपोषण र शिक्षाको व्यवस्था गर्न हामी पहल गर्नेछौँ। अभिभावकविहीन बालबालिकाको दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको छ।”
बालश्रमसम्बन्धी ऐनअनुसार १८ वर्षमुनिका बालबालिकालाई बालक मानिन्छ। १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन पूर्ण रूपमा निषेध छ। १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई काममा लगाउनुपरेमा रोजगारदाताले श्रम कार्यालयबाट अनुमति लिनुपर्छ। यो नियम उल्लङ्घन गरेमा रोजगारदातालाई कैद र जरिवानाको सजाय हुने कानुनी व्यवस्था छ।
सानो पाइलाको यो अभियानले बालश्रमविरुद्ध चेतना फैलाउन र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।