वीरगन्ज –
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शुक्रबार वीरगन्जको अत्यधिक प्रदूषित सरिसवा नदीको स्थलगत अनुगमन गर्नुभएको छ। नदी सफाइ र प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै उहाँले नदीको अवस्था सुधार गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको बताउनुभयो। अनुगमनका क्रममा उहाँले प्रदूषण फैलाउने उद्योगहरू–निम्बस, ग्लोबल लेदर, चावाशति र अमृत ध्युमा समेत निरीक्षण गर्नुभयो।
मुख्यमन्त्री सिंहको टोलीमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पवन पञ्जियार, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, नेत्री रम्भा मिश्र युवा नेता संजय सिहलगायत नेता–कार्यकर्ता सहभागी थिए। अनुगमनमा चारवटै उद्योगले अत्यधिक प्रदूषण फैलाइरहेको पाइएको पञ्जियारले बताए। “उद्योगहरूमा प्रदूषण यति धेरै थियो कि हामीलाई सास फेर्नसमेत गाह्रो भयो,” उनले भने। मुख्यमन्त्रीको निर्देशनअनुसार सरोकारवालासँग बैठक बसेरआईतबार जल, वायु र अन्य प्रदूषण फैलाउने उद्योगहरूलाई एक महिनाभित्र व्यवस्थापन गर्न पत्र काट्ने तयारी भएको उनले जानकारी दिए।

मुख्यमन्त्री सिंहले वीरगन्ज महानगरपालिकालाई नदीमा ढल नमिसाउन र तत्काल व्यवस्थापनको पहल गर्न सुझाव दिँदै आफ्नो कार्यकालमा सिरसिया नदीलाई स्वच्छ र सुरक्षित बनाएरै छाड्ने संकल्प व्यक्त गर्नुभयो। “चाहे जस्तोसुकै मूल्य चुकाउनु परोस्, म सिरसिया नदी स्वच्छ बनाएरै छाड्छु। आवश्यक परे उद्योगहरूलाई ताला लगाइनेछ,” उहाँले कडा चेतावनी दिनुभयो।
यद्यपि, जानकारहरूका अनुसार प्रदेश सरकारले प्रदेशमा दर्ता उद्योगहरूलाई दण्ड–जरिवाना र सिलबन्दी गर्न सक्ने भए पनि केन्द्रमा दर्ता उद्योगहरूलाई बन्द गर्न अधिकार नहुन सक्छ, जसले मुख्यमन्त्रीको योजनामा चुनौती थप्न सक्छ।
राजनीतिक असफलताको पृष्ठभूमि
सरिसवा नदीको प्रदूषण दशकौंदेखि वीरगन्जको प्रमुख समस्या बन्दै आएको छ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्थानीय चुनावमा नदी सफाइलाई मुख्य एजेन्डा बनाएर जित हासिल गरेका थिए। तर, उनले उद्योगहरूलाई जरिवाना र फोहोर लाद्ने काम गरे पनि नदीको अवस्था झन् नालामा परिणत भएको छ। त्यस्तै, राप्रपाकी सांसद बिना जायसवालले एक वर्षभित्र नदीको अवस्था बदल्ने संकल्प गरेर संसदमा कुरा उठाएकी थिइन्, तर ज्ञापनपत्र बुझाउनेबाहेक ठोस प्रगति गर्न सकिनन्। यी असफलताहरूले नदीको प्रदूषणलाई राजनीतिक स्टन्ट र भोट बैंकको साधन बनाइएको भन्दै स्थानीयमा निराशा छाएको छ।
मुख्यमन्त्रीको कदमप्रति मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री सिंहको पछिल्लो पहललाई कतिपयले सकारात्मक मानेका छन् भने कतिपयले यसलाई अर्को राजनीतिक स्टन्टको रूपमा हेरेका छन्। स्थानीय उद्योगहरूको प्रदूषण र ढल व्यवस्थापनको जटिलताले यो अभियानलाई चुनौतीपूर्ण बनाएको छ। यद्यपि, मुख्यमन्त्रीको कडा प्रतिबद्धता र अनुगमनले नदी सफाइको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। अब यो संकल्प कति प्रभावकारी हुन्छ, त्यो आगामी दिनहरूले देखाउनेछ।