वीरगन्ज-
वीरगन्ज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा परीक्षा, विदा, अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रममा एकरूपता कायम गर्न यो संयुक्त शैक्षिक क्यालेन्डर जारी गरिएको हो।
महानगर प्रमुख राजेशमान सिंहले शुक्रबार एक कार्यक्रमबीच यो क्यालेन्डर सार्वजनिक गर्नुभयो। क्यालेन्डरअनुसार शैक्षिक सत्र २०८२ मा विद्यालयहरू २३३ दिन सञ्चालन हुनेछन्। नयाँ शैक्षिक सत्र बैशाख ३ गतेबाट सुरु हुनेछ र सोही दिनदेखि ८ दिनसम्म विद्यार्थी भर्ना अभियान चलाइनेछ।

क्यालेन्डरमा गर्मी विदा, प्रथम त्रैमासिक मूल्याङ्कन, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन, जाडो विदा, अन्तिम मूल्याङ्कन, नतिजा प्रकाशन, शैक्षिक सत्रको समीक्षा, आगामी सत्रको योजना निर्माण, शैक्षिक सामग्री तयारी, कक्षाकोठा व्यवस्थापनलगायतका विषय समेटिएका छन्।
वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले क्यालेन्डरमा समेटिएका सबै गतिविधिले शैक्षिक सत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने बताउनुभयो।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले क्यालेन्डरअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न सबै विद्यालयलाई आग्रह गर्नुभयो। उहाँले यसले शैक्षिक गुणस्तर र एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्याब्सन, एन-प्याब्सनका प्रतिनिधि, विभिन्न विद्यालयका सञ्चालकहरू, शिक्षकहरू र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। यो क्यालेन्डरले वीरगंजका विद्यालयहरूमा शैक्षिक गतिविधिलाई थप व्यवस्थित र योजनाबद्ध बनाउने अपेक्षा गरिएको छ।