२०८२ असार १७ गते, मंगलवार ११:०९

वीरगन्ज-

वीरगन्जमा शनिवार हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु आइतबार राति १२ बजेसम्म कायम रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकले परिस्थितिको गम्भीर मूल्याङ्कन गर्दै कर्फ्युको अवधि लम्ब्याउने निर्णय गरेको हो । शनिवारको घटनाले साम्प्रदायिक तनावको जोखिम बढाएपछि प्रशासनले धार्मिक सद्भाव कायम राख्न र थप हिंसा रोक्न कर्फ्यु निरन्तर राख्ने निष्कर्ष निकालेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले बताएअनुसार सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, जनप्रतिनिधि र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता थियो ।

बैठकमा शनिवार साँझ छपकैया क्षेत्रमा भएको झडपको विस्तृत समीक्षा गरिएको थियो । “जय श्रीराम” लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा भवनबाट ढुंगामुढा प्रहार भएपछि उत्पन्न विवादले हिंसात्मक रूप लिँदा सहरमा तनाव फैलिएको थियो । बैठकले यस्ता घटनाले धार्मिक सद्भावमा आँच पुग्न सक्ने भन्दै सबै समुदायलाई संयमित रहन र सामाजिक एकता कायम राख्न जोडदार अपिल गरेको छ ।

बैठकले सामाजिक सञ्जालमा फैलिएका भ्रामक भिडियो र अफवाहले तनाव थप बढाउन सक्ने ठहर गर्दै यस्ता सामग्रीमा विश्वास नगर्न र सेयर नगर्न समेत सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका केही भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भ्रामक प्रचारले सामाजिक सद्भाव भड्काउन सक्ने भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस