२०८२ असार १७ गते, मंगलवार ११:३३

वीरगन्ज-

 पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले शनिबार वीरगञ्जमा हनुमान जयन्तीको शोभा जात्रामा भएको घटनाका दोषीलाई प्रमाण र तथ्यका आधारमा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा प्रजिअ अर्यालले सुरक्षा निकायसँग रहेका तथ्य प्रमाण र भिडियोहरुको आधारमा दोषीलाई कानून बमोजिम कारबाही हुने बताए । उनले घटनामा संलग्न दोषीलाई कारबाही गर्दा कसैको दबाब वा प्रभावमा नआउने स्पष्ट पारे । उनले राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत ‘मेरो वा तेरो व्यक्ति’ भन्दै दोषीलाई छुटाउन नआउन आग्रह गरे ।

प्रजिअ अर्यालले बहुभाषिक, बहुधार्मिक र बहुजाति समुदाय रहेको वीरगञ्जमा एक धर्म समुदायले अर्को धर्म समुदायको रीतिरिवाज र चाडपर्वलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले साम्प्रदायिक सद्भाव भड्काउने उद्देश्यले गरिने कुनै पनि क्रियाकलाप सरकारलाई स्वीकार्य नहुने चेतावनी दिए ।

शनिबारको घटनामा घाइते भएकाहरुको निशुल्क उपचारको लागि पहल गर्ने जानकारी पनि प्रजिअ अर्यालले दिए । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीलाई निर्देशन दिएका छन् ।

यद्यपि, सर्वपक्षीय बैठक आइतबार दिउँसोसम्म पनि जारी रहेको र ठोस निष्कर्षमा पुग्न नसकेको बताइएको छ । बैठकमा सहभागी हिन्दु संघ संस्थाका प्रतिनिधिहरुले हिन्दु समुदायले निकाल्ने जात्रामा बारम्बार आक्रमणको प्रयास हुने गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । छानबिन निष्पक्ष नभए आगामी दिनमा यसको परिणाम राम्रो नहुने चेतावनी उनीहरुले दिएका छन् ।

बैठकमा सहभागी एक व्यक्तिले गम्भीर विषयमा सरोकारवाला पक्षलाई अलग अलग राखेर छलफल गर्नुपर्नेमा एकै ठाउँमा राखेर छलफल गर्दा र सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्दा ठोस निष्कर्ष निकाल्न कठिनाइ भएको बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस