पर्सा-
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। विक्रम संवत् परम्पराको नयाँ वर्षको प्रारम्भमा मनाइने यो दुईदिने पर्वको पहिलो दिन, सोमबार ‘सतुवाइन’ मनाइएको थियो। यद्यपि, सतुवाइनलाई पनि जुडशीतल पर्वकै एक अभिन्न अङ्ग मानिन्छ।
वैशाख सङ्क्रान्तिका दिन सुरु भएको यस पर्वको विधि अनुसार पहिलो दिन चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत तयार गरी कूलदेवतालाई चढाइन्छ। त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।
आज, पर्वको दोस्रो दिन, घरपरिवारका ज्येष्ठ सदस्यहरूले आफूभन्दा साना सदस्यहरूको शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद प्रदान गरिरहेका छन्।
मिथिला क्षेत्रमा जुडशीतल घरका कूलदेवताको पूजा आराधना गरिने महत्त्वपूर्ण पर्वहरूमध्ये एक हो। यस पर्वमा तयार पारिने सम्पूर्ण खाद्य परिकारहरू इष्टदेवता (कूलदेवता) लाई अर्पण गर्ने परम्परा छ। बढ्दो गर्मीलाई मध्यनजर गर्दै यस पर्वमा दहीको प्रयोगलाई विशेष महत्त्व दिइन्छ। यसका साथै गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पीठोबाट बनेको बेसनको ‘बरी’ लाई दहीमा पकाएर बनाइने ‘कढीबरी’, काँचो केरा, लौका, परवल जस्ता तरकारीहरू यस पर्वका विशेष परिकार मानिन्छन्।
मैथिल लोकसंस्कृतिका ज्ञाता, पूर्वप्रशासक तथा साहित्यकार जलेश्वर निवासी ८७ वर्षीय महेश्वर रायका अनुसार, नयाँ वर्षले जीवनमा शीतलता प्रदान गरोस् भन्ने मुख्य सन्देशका साथ मनाइने यस पर्वमा गर्मी मौसममा शरीरलाई स्वस्थ राख्ने सुपाच्य खानेकुराहरू जस्तै चनाको सातु, दाल, सोहिजनको तरकारी, बदामको पीठोको बरी र दही मथेर बनाइएको कढी खाने प्रचलन छ।
सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि पर्याप्त वर्षा होस् भन्ने कामना गर्दै मैथिल समुदायका मानिसहरू आज मध्याह्न साथीभाइबीच धुलो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन्। जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी हालेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गर्ने परम्परा पनि रहेको छ।
बलवा–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउँछन् कि मिथिलामा सबै जाति समुदायले मिलेर मनाउने यो पर्व आपसी सद्भाव, मेलमिलाप र सहकार्यको महत्त्वपूर्ण सन्देश दिन्छ। विशेषगरी नयाँ वर्षको सुरुवातसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल मौसम रहोस् भन्ने यस पर्वको मुख्य उद्देश्य रहेको छ।