काठमाडौं-
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ वर्षको आरम्भसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संघीयतालाई धरापमा पार्न खोजेको गम्भीर आरोप लगाएका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशको प्रदेशसभामा गरेको सम्बोधनप्रति कडा कटाक्ष गरेका छन्।
प्रदेशसभाको सदस्य नभएको व्यक्तिले प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्ने चलन अन्य कुनै पनि मुलुकमा नरहेको उल्लेख गर्दै यादवले ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको उपहास गरेको आरोप लगाए। उनले संघीयतालाई कार्यान्वयन नै नगर्ने, प्रदेशलाई अधिकार, स्रोतसाधन र जनशक्तिविहीन बनाउँदै अन्त्यमा संघीय गणतन्त्रलाई नै समाप्त पार्ने षड्यन्त्र भएको आशंका व्यक्त गरेका छन्।

यादवले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘प्रदेशसभाको सदस्य नै नभएको व्यक्ति, केवल प्रधानमन्त्रीको हैसियतले मात्र प्रदेशसभाहरूलाई सम्बोधन गर्ने चलन र परम्परा कुनै पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको मुलुकमा देखिँदैन। संघीय संसदमा अन्य मुलुकबाट आएका सम्माननीय राजकीय अतिथिले सरकार र सभामुखको अनुमति प्राप्त भएपछि मात्र विशेष सम्बोधन गर्ने चलन रहेका छन्। नेपालको प्रधानमन्त्री प्रदेशसभाहरूमा गई सम्बोधन गर्नु संघीय गणतन्त्रकै उपेक्षा, उपहास र अवमूल्यन गर्नु हो। संघीयतालाई कार्यान्वयन नै नगर्ने, प्रदेशलाई अधिकार, स्रोतसाधन र जनशक्तिविहीन र कमजोर पार्दै, अन्त्यमा संघीय गणतन्त्रलाई नै समाप्त गर्ने षड्यन्त्र हो कि? अज्ञानता हो या सत्ताको दम्भ हो? संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता, सिद्धान्त र आदर्शविपरीत कार्य किन? सम्बोधनको उद्देश्य के हो?’
नयाँ वर्षको सुरुवातसँगै यादवले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि संघीयता नै समाप्त गर्ने षड्यन्त्र गरेको हो कि भन्ने प्रश्न खडा गरेपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। वर्तमान सरकारप्रति रुष्ट रहे पनि सरकारलाई दिएको समर्थन कायम राखेका यादवले अब समर्थन फिर्ता लिने हुन् कि भन्ने चर्चा सुरु भएको छ।
सरकारविरुद्ध पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई ढाल्ने दिएको अभिव्यक्ति, कांग्रेसभित्रको चरम असन्तुष्टि र उपेन्द्र यादवको सामाजिक सञ्जालको अभिव्यक्तिलाई राजनीतिक विज्ञहरूले जोडेर हेर्न थालेका छन्।