२०८२ असार १६ गते, सोमबार २०:३८

वीरगन्ज–

गृहमन्त्री रमेश लेखकले वीरगन्जमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्रामाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउँदै उक्त घटनाको विरोध जनाएको थियो। ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले शोभा यात्रामा आक्रमण गर्ने अराजक समूहलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग समन्वय गर्ने बताए।

गृहमन्त्री लेखकले भने, वीरगन्जमा भएको यो घटना अत्यन्त दुखद र गम्भीर छ। हामी दोषीहरूलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गर्छौं।उनले समाजमा शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन समेत आग्रह गरे।

यसअघि, हनुमान जयन्तीको शोभा यात्रामाथि मस्जिदको छतबाट ढुंगा प्रहार भएको घटनाले तनाव सिर्जना गरेको थियो। उक्त घटनामा प्रहरी र केही सर्वसाधारण घाइते भएका थिए भने स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाउनुपरेको थियो। घटनाको विरोधमा जनकपुरमा राष्ट्रिय एकता अभियानले गृहमन्त्री लेखकको पुत्ला समेत जलाएको थियो।

राष्ट्रिय समता पार्टीले ज्ञापनपत्रमार्फत शोभा यात्रामाथिको आक्रमणलाई ुक्रूरु भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ। पार्टीले यस्ता घटनाले धार्मिक सद्भाव र सामाजिक एकतामा आघात पुग्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

गृहमन्त्री लेखकले विगतमा पनि यस्ता घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याएको अनुभव सुनाउँदै यस घटनालाई पनि गम्भीरतापूर्वक लिइएको बताए। उनले शान्ति र अमनचयनमा खलल पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस