२०८२ असार १७ गते, मंगलवार १७:५२

वीरगन्ज

नेपाल पत्रकार महासंघ, पर्सा शाखाले हनुमान जयन्तीको शोभायात्राको समाचार संकलनका क्रममा प्रहरीको लाठीचार्जबाट  पत्रकारहरु गम्भीर घाइते भएको घटनाको घोर भर्त्सना गरेको छ। महासंघले आज जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण समाचार संकलनमा खटिएका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गर्नु अत्यन्त दुःखद् र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको उल्लेख गरेको छ।

महासंघका जिल्ला सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वैशाख २ गते साँझ वीरगन्जमा भएको प्रदर्शनको समाचार संकलनमा खटिएका एभिन्युज टेलिभिजनका सहकर्मी अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल आकाश र चन्दनसूर्य वाणीका धीरेन्द्र तिवारी घाइते भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्साको गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रदर्शनको समाचार सामान्य ढंगले संकलन गरिरहेका सञ्चारकर्मीहरू ढुंगा र प्रहरीको लाठीको निशानामा पर्नु अत्यन्त दुःखद्, खेदजनक र भर्त्सनायोग्य विषय हो। आम नागरिकमा सत्य तथ्य सूचना पुऱ्याउने कर्ममा खटिएका पत्रकारहरू नै असुरक्षित हुनु भनेको विधि, प्रक्रिया र कुनै पनि सरोकारवाला पक्षबाट पारदर्शिता कुण्ठित हुनु हो। पत्रकारहरूमाथि जुनसुकै पक्षबाट भएको आक्रमण सह्य हुँदैन।’

महासंघले आम नागरिक र पत्रकारको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र भयरहित तरिकाले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरणको ग्यारेन्टी गर्नुपर्ने माग गरेको छ। पत्रकारमाथि भएको आक्रमणका दोषीहरूलाई पहिचान गरी कानूनी कारबाहीको जोडदार माग गर्दै महासंघले सञ्चारकर्मीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन राज्यको ध्यानाकर्षण गराएको छ।

नेपाल पत्रकार महासंघ पर्साले घाइते पत्रकार अर्जुन गुप्तानगायत पत्रमारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस