वीरगन्ज-
वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रामा धार्मिक सद्भाव विथोल्ने आरोपमा पक्राउ परेका चार जनामाथि अनुसन्धानका लागि जिल्ला अदालत पर्साले ६ दिनको म्याद थप गरेको छ। मंगलबार पक्राउ परेका शेख खुर्सेद, सलाउदिन मिया ठकुराइ, रवि सरार्फ र बल्जित सिंहमाथि बुधबार अदालतले यो आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालका भिडियोहरूको विश्लेषणका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो। हनुमान जयन्तीको शोभायात्रामा उच्छृङ्खल गतिविधि गरेको र धार्मिक सद्भाव बिगारेको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको छ। प्रहरीले सात दिनको म्याद थप मागे पनि अदालतले ६ दिनको म्याद प्रदान गरेको छ।

दुई जनाविरुद्ध राज्यविरुद्धको कसुर र अन्य दुई जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले स्थानीय क्षेत्रमा तनाव बढाएको छ भने प्रहरीले थप अनुसन्धानलाई तीव्र बनाएको छ।