पर्सा –
वीरगन्जका दुई उद्योगलाई फोहोर व्यवस्थापन गर्न एक महिनाको कडा निर्देशन दिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले गत २९ गते स्वयं उपस्थित भएर गरेको अनुगमनका क्रममा प्रो बायोटीक निम्ब्स र ग्लोबल लेदर नामक उद्योगहरूले फोहोर तथा फोहोरजन्य वस्तुहरूको उचित व्यवस्थापन नगरेको पाइएको थियो ।
उद्योगबाट निस्कने फोहोरले स्वास्थ्य र वातावरणमा नकारात्मक असर पारेको छ । साथै, अनुगमनका क्रममा ती उद्योगहरूले सिर्सिया नदीलाई प्रत्यक्ष रूपमा प्रदूषित गरेको पाइएको थियो । यसै कारण मुख्यमन्त्री सिंहले एक महिनाभित्र फोहोर व्यवस्थापन गरी वातावरणीय मापदण्ड पूरा गर्न स्पष्ट निर्देशन दिनुभएको थियो ।

सोही निर्देशन अनुसार, गत ३१ गते पर्सा जिल्लामा रहेका ती दुई उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय, वीरगन्जले पत्र काटेको छ । कार्यालयका प्रमुख पवन पंजियारले उद्योगहरूलाई निर्देशनको पालना गर्न र फोहोर व्यवस्थापन योजना तत्काल कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयले फोहोर व्यवस्थापनको प्रगति विवरण वा कार्य सम्पन्न प्रतिवेदन एक महिनाभित्र कार्यालयमा बुझाउन पनि भनेको छ । तोकिएको समयसीमाभित्र निर्देशन पालना नगरेमा प्रचलित कानून अनुसार थप कारबाही गरिने चेतावनी समेत दिइएको छ ।