२०८२ असार १७ गते, मंगलवार १२:३५

वीरगन्ज –

वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको साम्प्रदायिक झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै इस्लामी सङ्घ नेपालले बिहीबार गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ। सङ्घका नजरुल हसन फलाहीको नेतृत्वमा गएको टोलीले उक्त घटनालाई सङ्गठित अपराधको संज्ञा दिँदै दोषीमाथि कडा कारबाही र मुस्लिम समुदायको सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ।

ज्ञापन पत्रमा शनिबार भएको झडपलाई मुस्लिम समुदायमाथिको योजनाबद्ध आक्रमणको रूपमा चित्रण गरिएको छ। सङ्घले नेपालमा मुस्लिम समुदायको गौरवमय इतिहास र देशप्रतिको निष्ठालाई स्मरण गराउँदै केही असामाजिक तत्त्वहरूले समुदायको शान्तिकामी छविलाई धमिल्याउने प्रयास गरेको आरोप लगाएको छ। “मुस्लिम समुदाय अल्पसङ्ख्यक भए पनि हाम्रो देशप्रतिको प्रेम र सामाजिक सद्भावप्रतिको प्रतिबद्धता ऐतिहासिक सहकार्यले प्रमाणित छ। तर, वीरगन्जको घटना गत वर्ष सर्लाही र नेपालगञ्जमा भएका आक्रमणहरूजस्तै हाम्रो समुदायलाई लक्षित गर्ने कुप्रयास हो,” पत्रमा उल्लेख छ।

सङ्घका अनुसार, शोभायात्राका लागि विगतमा प्रयोग नभएको मुस्लिम बाहुल्य क्षेत्रको रुट छनोट गरिएको थियो। केही अतिवादी युवाहरूले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतङ्क मच्चाउने प्रयास गरेको र यो कुरा व्हाट्सएप ग्रुपको अडियो र सामाजिक सञ्जालका भिडियोहरूले पुष्टि गर्ने दाबी गरिएको छ। “प्रत्यक्षदर्शीहरूले मुस्लिम समुदायले रक्षात्मक रूपमा ढुङ्गा फ्याँकेको बताएका छन्, जुन भिडियोहरूमा प्रस्ट छ। तर, प्रहरी प्रशासन मूकदर्शक बन्यो र तोडफोड, कुटपिट, गालीगलौजजस्ता अराजक गतिविधिलाई रोक्न असफल भयो,” ज्ञापन पत्रमा भनिएको छ।

सङ्घले प्रहरीको निष्क्रियताले स्थिति बिग्रनमा ठूलो भूमिका खेलेको ठहर गरेको छ। “प्रहरीको सामुन्ने यस्ता गतिविधि हुँदा पनि कारबाही नहुनुले मुस्लिम समुदायमा त्रास फैलिएको छ। विशेषगरी तराई–मधेसका मुस्लिम समुदाय त्रसित छन्। यसले लोकतन्त्र, मानवअधिकार र संविधानप्रदत्त हकको हनन भएको छ,” सङ्घको भनाइ छ। साथै, युवाहरूलाई यस्ता गतिविधिमा उक्साउनु देशका भविष्यका कर्णधारहरूलाई गलत दिशामा लैजाने कार्य भएको सङ्घले जनाएको छ।

सङ्घले ‘सम्राट् सेना’ जस्ता सङ्गठनहरूको साम्प्रदायिक गतिविधिप्रति पनि आपत्ति जनाएको छ। “नेपाली सेना हुँदाहुँदै यस्ता गैरकानुनी समूहहरूको गतिविधि बढ्नुले सुरक्षा संयन्त्रलाई चुनौती दिएको छ। यस्ता गतिविधिलाई समयमै नरोके देशमा समानान्तर शक्तिको उदय हुने खतरा छ,” पत्रमा चेतावनी दिइएको छ।

इस्लामी सङ्घ नेपालले घटनामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, नागरिक सुरक्षाको प्रत्याभूति गर्न र समुदायको छवि धमिल्याउने षड्यन्त्रको समयमै उपचार गर्न माग गरेको छ। “यस्ता अपराधीलाई बारम्बार छुट दिइयो भने देशमा अराजकता, हिंसा र अशान्ति फैलिनेछ,” सङ्घले भनेको छ।

गृहमन्त्री लेखकले ज्ञापन पत्र बुझ्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको आश्वासन दिएका छन्। उनले सामाजिक सद्भाव कायम राख्न सबै समुदायलाई संयमित रहन अपिल गर्दै सरकारले नागरिक सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

यसैबीच, वीरगञ्जमा शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस