२०८२ असार १७ गते, मंगलवार ०१:०७

वीरगन्ज –

मधेश प्रदेशको आर्थिक नगरी वीरगन्जमा गत चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा छपकैया क्षेत्रमा दुई समुदायबीच भएको झडप र त्यसपछिको तनावपूर्ण वातावरणले सहर तरङ्गित भएको छ। यो घटनाले साम्प्रदायिक सद्भावमा आघात पुर्‍याएको छ भने वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको मौनताले जनमानसमा गम्भीर प्रश्नहरू उब्जाएको छ। सामाजिक सञ्जालदेखि सडकसम्म मेयर सिंहको अनुपस्थितिको चर्चा चुलिएको छ।

झडप र तनावको पृष्ठभूमि
हनुमान जयन्तीको शोभायात्रा छपकैया चोक नजिकैको मदरसाबाट ढुङ्गामुढा भएको दाबी गरिएको छ। यसको प्रतिकारमा हिन्दु समुदायको भिडले गरेको कारबाहीले स्थिति तनावग्रस्त बन्यो। घटनापछि  कर्फ्यू लगाइयो र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय राजनीतिक दल, हिन्दु र मुस्लिम नेताहरूको संयुक्त बैठक बोलाएर शान्ति कायम गर्ने प्रयास गरे।सो बैठकमा उप मेयर ईम्तियाज आलम बिहान देखि बेलुका सम्म बसे तर, यस्तो संवेदनशील अवस्थामा मेयर राजेशमान सिंह बैठकमा उपस्थित भएनन्, न त उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कुनै अपिल जारी गरे।

मेयरको मौनताले जनतामा आक्रोश
सामान्य विषयमा तत्काल प्रतिक्रिया दिने मेयर सिंहको यो घटनामा चुप्पीले वीरगन्जवासीमा आश्चर्य र आक्रोश पैदा गरेको छ। सामाजिक सञ्जालमा युवाहरूले उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै विभिन्न टिप्पणी र स्टाटसहरू पोस्ट गरेका छन्। एक स्थानीयले लेखे, “सानो कुरामा फेसबुकमा स्टाटस लेख्ने मेयर ठूलो घटनामा किन मौन? वीरगन्ज जलिरहँदा मेयर कहाँ हराए?”

सामाजिक सञ्जालमा युवाहरूले उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै विभिन्न टिप्पणी र स्टाटसहरू

मुस्लिम नेताको गम्भीर आरोप
घटनाको दोस्रो दिन काठमाडौँबाट सञ्चालित एक टेलिभिजनमा मुस्लिम अगुवा जफर अन्सारीले मेयर सिंह र उद्योगपति तथा वीरगन्जका सद्भावना दूत अशोक वैद्यमाथि गम्भीर आरोप लगाए। अन्सारीले मेयर सिंहले निर्वाचन जितेपछि वीरगन्जको राष्ट्रीय स्वयंसेवक सङ्घ (आरएसएस) कार्यालय भ्रमण गरेको र हनुमान जयन्ती जस्ता जुलुसमा भारतबाट हजारौँ हिन्दुहरूलाई योजनाबद्ध रूपमा बोलाएर मुस्लिम समुदायमाथि आक्रमण गरेको दाबी गरे। यी आरोपहरूको खण्डन गर्न मेयर सिंहले कुनै प्रतिक्रिया दिएनन्, जसले थप शङ्का उत्पन्न गरेको छ।

जसपाका नगर अध्यक्ष एवम् वीरगन्ज महानगर शिक्षा अनुगमन समितिका अध्यक्ष ईश्वर यादवले अन्सारीको आरोपको खण्डन गर्दै सामाजिक सञ्जालमा लेखिएको अभिव्यक्ति

जसपाको प्रतिक्रिया र मेयरको स्वास्थ्यबारे दाबी
जसपाका नगर अध्यक्ष एवम् वीरगन्ज महानगर शिक्षा अनुगमन समितिका अध्यक्ष ईश्वर यादवले अन्सारीको आरोपको खण्डन गर्दै सामाजिक सञ्जालमा लेखे, “हनुमान जयन्तीको शान्तिपूर्ण शोभायात्रामा यतिमखानाबाट ढुङ्गा हानिएको हो। तर, द्वन्द्वको दोष अशोक वैद्य, मेयर र आरएसएसमाथि लगाउनु व्यक्तिगत प्रतिष्ठा र समाज बिगार्ने प्रयास हो।” उनले अन्सारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे। मेयरको अनुपस्थितिबारे प्रश्न उठ्दा यादवले दाबी गरे कि मेयरको स्वास्थ्य अवस्था बिग्रिएको र मेला उद्घाटनपछि उनी अगाडि नआएको बताए। तर, मेयर मुक्तिनाथको धार्मिक यात्रामा छन् भन्ने हल्लाबारे उनले अनभिज्ञता प्रकट गरे।

आरएसएस नेताको खण्डन
आरएसएसका कार्यकर्ता रञ्जित सर्राफले मेयर सिंहले आरएसएस कार्यालय भ्रमण गरेको आरोप अस्वीकार गरे। उनले भने, “मेयर सिंह हाम्रो १२ वर्षको हनुमान जयन्ती शोभायात्रामा एकपटक पनि आएका छैनन् हो बरु बिजय कुमार सरावर्गी मेयर हुदा उहँ अउनुभएको थियो  । तर, मेयर सिंहले  महानगरको लाखौँ बजेट सामूहिक इफ्तारमा खर्च गरेका छन् र कारागारमा रहेका मुस्लिमहरूका लागि इफ्तारी सामग्री पठाएका छन्। हिन्दु जुलुसमा उनको कुनै सहभागिता छैन।”

वीरगन्ज महानगरपालिकाले आयोजना गरेको सामूहिक इफ्तार कार्यक्रम र वीरगन्ज कारागारमा पठाइएको सामग्री

राजनीतिक विश्लेषकको चिन्ता
राजनीतिक विश्लेषकहरूले मेयर सिंहको कार्यशैलीमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार, सानातिना कुरामा सामाजिक सञ्जालमार्फत सक्रिय रहने मेयरले यस्तो संवेदनशील घटनामा शान्तिको अपिल नगर्नु र अन्सारीको आरोपको कानुनी उपचार नखोज्नुले उनको नेतृत्वमाथि शङ्का उब्जाएको छ। “यो मौनताले सामुदायिक विश्वास कमजोर पार्न सक्छ र साम्प्रदायिक तनावलाई थप बल दिन सक्छ,” एक विश्लेषकले भने।

स्थितिमा सुधार, तर प्रश्न कायम
प्रमुख जिल्ला अधिकारीको पहलमा वीरगञ्जको स्थिति क्रमशः सामान्य बन्दै गएको छ। तर, मेयर सिंहको अनुपस्थिति र मौनताले उनको जिम्मेवारी र नेतृत्वमाथि प्रश्नचिह्न खडा गरेको छ। वीरगञ्जवासीले मेयरबाट स्पष्ट जवाफ र सक्रियताको अपेक्षा गरिरहेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस