२०८३ असार ३१ गते, बुधबार १०:४०

रक्सौल नजिक सिरिसियामा पोल्ट्री फार्ममा लुकेको अवैध हतियार उद्योगमाथि भारतीय प्रहरीको छापा, चार पक्राउ

रक्सौल/ गाणेश संकर-

वीरगन्जको सिमावर्ती भारतीय शहर रक्सौल नजिकैको सिरिसिया गाउँमा पोल्ट्री फार्मको आडमा सञ्चालित अवैध हतियार उद्योगमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा हतियार तथा सम्बन्धित सामग्री बरामद गरेको छ। छापामारीका क्रममा उक्त उद्योग सञ्चालन गर्ने चार जना पक्राउ परेका छन्।

मोतिहारीका प्रहरी अधीक्षक (एसपी) स्वर्ण प्रभातको आदेशमा उपप्रहरी अधीक्षक (एसडिपीओ) धीरेन्द्र कुमारको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान रक्सौल र रामगढवाको बीचमा पर्ने पलनवा थाना अन्तर्गतको सिरिसिया गाउँस्थित पोल्ट्री फार्ममा छापा मारेको थियो। १२ घण्टासम्म चलेको छापामारीमा पोल्ट्री फार्मभित्र लुकेर सञ्चालित हतियार उद्योग फेला परेको हो।

छापामारीका क्रममा प्रहरीले कन्ट्री मेड कार्बाइन १ थान, देसी पेस्तोल ३ थान, ९ एमएमको गोली ४३ थान, ३.१५ बोरको गोली ३१ थान, ७.६२ बोरको गोली ९ थान, खोखा २ थान, देसी सिक्सर पेस्तोल १ थान, अर्धनिर्मित पेस्तोल बडी ६ थान, स्लाइडिङ १९ थान, म्यागजिन २० थान, स्प्रिङ ६ थान, नेम पन्चिङ १०५ थान, ड्रिल मेसिन ३ थान, वेल्डिङ मेसिन १ थान र तरवार १ थान बरामद गरेको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीले सुरुमा उक्त हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह र उनका बुबा राजेश्वर सिंहलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा छपरा र मुंगेरमा खटिएको भारतीय प्रहरीको विशेष टोलीले छपराबाट अभिताभ शर्मा र मुंगेरबाट नौयर आलमलाई पनि पक्राउ गरेको एसपी स्वर्ण प्रभातले बताए।

छापामारीमा एसडिपीओ धीरेन्द्र कुमार, पलनवाका थानाध्यक्ष सीता केवट, भेलाही थानाध्यक्ष शाहरुख, रामगढवा थानाध्यक्ष अमरजीत कुमार, छपराको परसवा थानाध्यक्ष सुनील कुमारलगायतको प्रहरी टोली संलग्न थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस