चितवन-
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा एकजुट भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।
शुक्रवार चितवनको पूूर्व—पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश विकासमा लाग्नुपर्ने समय भएकाले सधैँ राजनीति र निर्वाचनको मात्रै कुरा गर्न नहुने बताउनु भयो । उहाँले विकास निर्माणका काममा कसैको मतभेद हुन नहुने बताउनु भयो । उहाँले विकास निर्माणमा अरु देशले गर्ने सहयोग धरापमा परेको भन्दै आफ्नो देश विकास आफँैले गर्नुपर्ने बताउनु भयो ।

उहाँले अरुको सहयोगमा भर पर्ने तथा अरुको शक्तिको भरमा लडाईं लड्ने देशहरुको अवस्थाले विकास र समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने पाठ सिकाएको बताउनु भयो । उहाँले हाम्रो देश अरु कसैले नबनाइ दिने बताउनु भयो । उहाँले आफूले धेरै कुराहरु देख्दै र भोग्दै आएको भन्दै राष्ट्रिय एकताको बलमा देशलाई सबै किसिमले सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सडक तथा हवाई यातायातको पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरेको बताउनु भयो । उहाँले विद्युत उत्पादनमा असाधारण विकास भएको दाबी गर्नुभयो । उहाँले विगतमा आफू प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारबिना देश विकास हुँदैन भनेर पूर्वाधारमा जोड दिएको र त्यसले सफलता पाएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले २०४७ सालपछि लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्यानमा राखेर तिब्र गतिमा विकासका काम हुनुपर्नेमा केही अलमल र ढिलो भएको बताउनु भयो ।