२०८२ असार १७ गते, मंगलवार ००:५५

वीरगन्ज –

शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्साका १४ वटै स्थानीय तहका प्रमुखहरू सक्रिय भएका छन् । सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन गर्ने घोषणा गरे पनि शिक्षक आन्दोलनले प्रभावित भएपछि पर्साका पालिका प्रमुखहरूले वैशाख ८ देखि १५ गतेसम्म जिल्लाभर भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान सञ्चालन गर्न सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकमा प्रमुखहरूले जस्तोसुकै विपत् वा संकटमा पनि विद्यार्थीको सिक्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिँदा विद्यार्थीको पठनपाठन अवरुद्ध भएको भन्दै उनीहरूले यस्तो अवस्था जायज नभएको बताए ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठनपाठनबाट वञ्चित हुनु गलत भएको भन्दै तत्काल भर्ना अभियान सञ्चालन गरी पठनपाठन सुचारु गर्नुपर्ने बताए । उनले शिक्षकहरूको माग राख्ने अधिकारलाई सम्मान गर्दै आन्दोलनलाई रचनात्मक बनाउनुपर्ने सुझाए ।

यस्तै, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले शिक्षकहरूका केही मागहरू संविधानविपरीत रहेको उल्लेख गर्दै अन्य मागप्रति आफूहरूको समर्थन रहेको स्पष्ट पारे । ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले शिक्षक आन्दोलनका कारण विद्यार्थी पठनपाठनबाट वञ्चित हुँदा पालिका प्रमुखहरूलाई नै अपजस आउने भएकाले तत्काल विद्यालय सञ्चालनको उपाय खोज्नुपर्ने बताए ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नेपालको संविधानले आधारभूत र माध्यमिक तहको शिक्षा स्थानीय तहको जिम्मेवारीमा राखेको उल्लेख गर्दै भर्ना अभियानलाई घरघरमा पुर्‍याउने गरी सञ्चालन गर्न सबै पालिका एकजुट भएको बताए । उनले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको सन्दर्भ उल्लेख गर्दै शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलन गर्नु उपयुक्त नभएको बताए । उनले आन्दोलनका कार्यक्रम परिमार्जन गरी विद्यालय सञ्चालन हुने वातावरण बनाउन र सामुदायिक विद्यालय विद्यार्थीविहीन हुन नदिन सबैलाई सचेत रहन आग्रह गरे ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले काठमाडौं केन्द्रित आन्दोलनमा प्रतिनिधिमूलक शिक्षकहरू मात्र सहभागी भएको र ६० प्रतिशतभन्दा बढी शिक्षक गाउँघरमै रहेको भन्दै उनीहरूले जिम्मेवारीपूर्वक विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

बैठकमा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, पोखरिया नगरपालिकाका प्रमुख पधुम्न चौहान, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन सा तेली, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती देवी चौरसिया, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतलगायत पालिकाका शिक्षा प्रमुखहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस