वीरगन्ज-
केही दिनअघि वीरगन्जमा सञ्चारकर्मीमाथि आक्रमण र हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघ पर्साको गम्भीर आपत्तिमा दुई समुदायबीच उत्पन्न तनावपछि आम सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भइरहेका घटनाक्रमप्रति नेपाल पत्रकार महासंघ (एफएनजे) पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाले आज एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण र दुव्र्यवहारका घटना नसेलाउँदै स्थानीय सञ्चारमाध्यमका समाचार सामग्रीमा स्थानीय प्रशासनको हस्तक्षेप र समाचार लेखेकै कारण सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत भएका गालीगलौजप्रति आपत्ति जनाएको छ।
महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी सञ्चालक रहेको स्थानीय टेलिभिजन ‘ए न्यूज’ मा यही वैशाख ६ गते साँझ ६ बजे प्रसारणको तयारीमा रहेको सामग्रीको प्रसारणमा पुनर्विचार गर्न भन्दै स्थानीय प्रशासनबाट भएको दबाबपूर्ण आग्रहलाई महासंघले प्रेस स्वतन्त्रता कुण्ठित तुल्याउने प्रयास भएको ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यदि सामग्रीमा कुनै आपत्तिजनक सन्दर्भ भएमा प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढ्नुपर्नेमा सिधै स्थानीय प्रशासनको हस्तक्षेप स्वीकार्य हुँदैन।”

त्यस्तै, शाखाका सदस्य सुरेश बिडारीले लेखेको समाचारलाई लिएर उनलाई सामाजिक सञ्जालमार्फत गरिएको गालीगलौज निन्दनीय रहेको महासंघले जनाएको छ। “यस्तो कार्यमा संलग्न जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याइनुपर्दछ,” विज्ञप्तिमा उल्लेख छ।
महासंघले सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सकारात्मक सहकार्यको खाँचो औंल्याउँदै यसमा सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्ने बताएको छ। तर, यही बहानामा स्वतन्त्र प्रेसको अवधारणामै प्रहार हुने गतिविधि नगर्न र नगराउन महासंघले आग्रह गरेको छ। प्रेसमाथि हस्तक्षेप र मानसिक दबाब दिने खालका गतिविधि दोहोरिएमा पत्रकार महासंघ कडा कदम चाल्न बाध्य हुने व्यहोरासमेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ।