२०८२ असार १७ गते, मंगलवार ०१:५६

काठमाडौं-

बंगलादेशका प्रमुख हिन्दू नेता भाबेशचन्द्र रायको अपहरण र हत्याको घटनाले क्षेत्रीय स्तरमा तनाव बढाएको छ । भारतले यो घटनालाई लिएर बंगलादेशको मोहम्मद युनुश नेतृत्वको अन्तरिम सरकारमाथि अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको गम्भीर आरोप लगाएको छ ।

उत्तरी बंगलादेशको दिनाजपुर जिल्लाका बासिन्दा ५८ वर्षीय भाबेशलाई गत बुधवार उनकै घरबाट केही मुस्लिम अतिवादी समूहले अपहरण गरेको समाचार एजेन्सीहरूले जनाएका छन् । अपहरणपछि गम्भीर घाइते अवस्थामा उनलाई घरमा छाडिएको थियो । तत्काल अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको थियो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो घटनालाई बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि भइरहेको व्यवस्थित उत्पीडनको एक हिस्साको रूपमा चित्रण गरेका छन् । उनले भने, “यो बर्बर हत्या बंगलादेशको अन्तरिम सरकारको शासनकालमा हिन्दू समुदायमाथि भइरहेको सिलसिलाबद्ध आक्रमणको पछिल्लो उदाहरण हो । यस्ता अपराधमा संलग्न व्यक्तिहरू सजायबाट उन्मुक्ति पाइरहेका छन् । हामी यो घटनाको कडा निन्दा गर्छौं र बंगलादेश सरकारलाई हिन्दूसहित सबै अल्पसंख्यकको सुरक्षाको जिम्मेवारी भेदभावबिना पूरा गर्न आग्रह गर्छौं ।”

भारतले यसअघि पनि बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको हिंसाको विषयमा पटक–पटक चासो व्यक्त गर्दै आएको छ । तर, छिमेकी मुलुकमा भइरहेको यस्तो उत्पीडनको विषयमा नेपाल सरकारले भने कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । विश्वमै सर्वाधिक ८४ प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या भएको नेपालले बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेका हत्या, बलात्कार र उत्पीडनका घटनामा मौनता साँधेको भन्दै आलोचना भइरहेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को वर्तमान अध्यक्ष राष्ट्रको हैसियतले पनि नेपालले बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अत्याचारको विषयमा कूटनीतिक पहल गरेको देखिएको छैन ।

यो घटनाले दक्षिण एशियाली क्षेत्रमा अल्पसंख्यक समुदायको सुरक्षा र मानवअधिकारको विषयमा गम्भीर प्रश्न उठाएको छ । बंगलादेश सरकारले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग क्षेत्रीय स्तरमा उठिरहेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस