२०८२ श्रावण ३१ गते, शनिबार २२:२१

काठमाडौं–

आइपिएल २०२५ को ३८औँ म्याचमा मुम्बई इन्डियन्सले आफ्नो चिरप्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ। यो म्याचमा रोहित शर्माले सात म्याचपछि पहिलो पटक अर्धशतक प्रहार गर्दै नाबाद ७६ रन बनाए, जसले मुम्बईको जितलाई सहज बनायो। सूर्यकुमार यादवले पनि नाबाद ६८ रनको शानदार पारी खेल्दै म्याचलाई ११ बल बाँकी छँदै समाप्त गरे। यी दुईले दोस्रो विकेटका लागि ६६ बलमा १२२ रनको अटुट साझेदारी गरे।

हार्दिक पाण्ड्याको प्रशंसा: रोहितको फर्मले जिताए म्याच

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या म्याचपछि उत्साहित देखिए। उनले भने, “रोहित शर्मा यस्ता खेलाडी हुन्, जो लयमा हुँदा विपक्षी टिमबाट म्याच खोस्न सक्छन् र आफ्नै दममा जित दिलाउँछन्। हाम्रो टिममा सबै खेलाडीले आ-आफ्नो योगदान दिइरहेका छन्। हामी केवल साधारण क्रिकेट खेल्ने र हाम्रो रणनीतिलाई मैदानमा उतार्ने कुरामा केन्द्रित छौँ।” पाण्ड्याले रोहितलाई ‘प्लेयर अफ द म्याच’ को सम्मान प्राप्त भएकोमा पनि खुशी व्यक्त गरे।

चेन्नईको कमजोर प्रदर्शन, धोनीले बताए कमजोरी

पोइन्ट्स टेबलमा पुछारमा रहेको चेन्नई सुपर किङ्सले यो म्याचमा कमजोर प्रदर्शन गर्‍यो। टिमका कप्तान महेन्द्र सिंह धोनीले हारको कारणबारे भने, “हामीले राम्रो स्कोर बनाउन सकेनौँ। हामीलाई थाहा थियो कि पछि ओस पर्नेछ, त्यसैले हामीले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्नुपर्थ्यो। १६२ रनको स्कोर निकै कम थियो। पहिलो ६ ओभरमा धेरै रन दिएपछि खेलमा फर्कन गाह्रो भयो। साथै, जसप्रित बुमराहजस्ता विश्वका उत्कृष्ट बलर अन्तिम ओभरमा बलिङ गर्न आउँदा हाम्रो लागि चुनौती थपियो।”

यो जितसँगै मुम्बई इन्डियन्सले आइपिएल २०२५ मा आफ्नो लय कायम राखेको छ, भने चेन्नई सुपर किङ्सले आफ्नो रणनीतिमा सुधार गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस