वीरगन्ज,
जनमत पार्टी पर्साले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेटमा पर्सा जिल्लाका विभिन्न योजनाहरूलाई समावेश गर्न अनुरोध गर्दै अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उक्त ज्ञापन पत्र हस्तान्तरण गरेको हो।
ज्ञापन पत्रमा पर्सा जिल्लाको विकासमा राज्यबाट सधैं विभेद भएको भन्दै राष्ट्र निर्माणमा जिल्लाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ। “पर्सा जिल्लाको समग्र विकास र यहाँको न्यायका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा निम्न योजनाहरू समावेश गर्न अनुरोध गर्दछौं,” ज्ञापन पत्रमा भनिएको छ।
जनमत पार्टीले राखेका १० बुँदे मागहरूमा निम्नलिखित योजनाहरू समावेश छन्:
- अलपत्र नारायणी रंगशालाको निर्माणका लागि आवश्यक बजेट।
- नारायणी अस्पतालको विकास र पूर्वाधार निर्माणमा विशेष प्राथमिकता।
- जनता सडक निर्माणका लागि बजेट व्यवस्था।
- सिँचाइका लागि विशेष कार्यक्रम र बजेट।
- सिर्सिया नदिको संरक्षण र करिडोरको रूपमा विकास गर्न कार्यक्रम र बजेट।
- पर्साको ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्न विशेष प्याकेज।
- वीरगञ्जस्थित कृषि औजार कारखानाका लागि आवश्यक बजेट।
- समयमै मल, खाद्यको व्यवस्था र वितरणका लागि बजेट।
प्रमुख जिल्ला अधिकारी अर्यालले ज्ञापन पत्र ग्रहण गर्दै यसलाई सम्बन्धित निकायमा पुर्याउने आश्वासन दिएका छन्। जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले पर्साको विकासमा यी मागहरू सम्बोधन भएमा जिल्लाको आर्थिक र सामाजिक प्रगतिमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।