वीरगन्ज-
दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह समारोह भाँडेर मण्डपबाट उठेको आरोपमा पर्सा जिल्ला अदालतले बेहुला र उनका परिवारका सदस्यसहित पाँच जनालाई ६–६ महिनाको कैद सजाय सुनाएको छ। साथै, प्रत्येकलाई ५ हजार रुपैयाँ जरिवाना र दाइजोबापत लिइएको ५ लाख ६५ हजार रुपैयाँ बेहुली पक्षलाई फिर्ता गर्नुपर्ने फैसला भएको छ।
जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय बेहुला उमेश साह, उनका पिता ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु ४५ वर्षीय रामएकबाल साह (परवानीपुर–५) लाई विवाह सम्बन्धी कसूरमा दोषी ठहर गर्दै सजाय तोकेको हो।

घटना २०७९ फागुन २८ गते वीरगन्ज महानगरपालिका–२४, रामगढवास्थित बेहुलीको घरमा भएको थियो। विवाह समारोह सामाजिक परम्पराअनुसार चलिरहेको बेला बेहुला पक्षले सुनको सिक्रीको माग राख्दै विवाद सिर्जना गरेका थिए। विवादले उग्र रूप लिँदा कुटपिटसमेत भएको र विवाह समारोह भाँडिएको थियो। सोही रात प्रहरीले बेहुला उमेशसहित पाँच जनालाई बेहुलीको घरबाट नियन्त्रणमा लिएको थियो।
पर्सा जिल्ला प्रहरी कार्यालयमा बेहुली पक्षले २०७९ फागुन २९ गते जाहेरी दिएपछि उनीहरूविरुद्ध विवाह सम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता भएको थियो। केही दिनपछि अदालतले सबैलाई धरौटीमा रिहा गरेको थियो। तर, मंगलबारको फैसलाले उनीहरूलाई दोषी ठहर गर्दै सजाय र जरिवानासहित दाइजो रकम फिर्ता गर्न आदेश दिएको छ।
यो घटनाले दाइजो प्रथाको दुरुपयोग र सामाजिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ। अदालतको यो फैसलाले दाइजोसम्बन्धी अपराधलाई निरुत्साहित गर्न महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।