२०८२ असार १७ गते, मंगलवार ०१:३८

बीरगन्ज –

पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित चिनीमिल आवास क्षेत्रमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। ४१ वर्षीय एक पुरुषलेआफ्नै १४ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार पीडित बालिकाले आफ्नी आमालाई बुवाले पटक-पटक यौन दुर्व्यवहार गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको बताएकी थिइन्। बालिकाको बयान र आमाको जाहेरीपछि प्रहरीले तत्काल कदम चाल्दै आरोपित बुवालाई पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार, घटना वैशाख ६ गते साँझ ६ बजेतिर भएको थियो। पीडित बालिकाले दिएको बयानमा बुवाले लामो समयदेखि आफूलाई मानसिक र शारीरिक यातना दिइरहेको उल्लेख गरेकी छन्।

यस संवेदनशील घटनाको अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। प्रहरी निरीक्षक किशोर लम्सालले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जानकारी दिइएको छ।

समाजमा बढ्दै गएको यस्ता जघन्य अपराधका घटनाले सबैलाई स्तब्ध बनाएको छ। आफ्नै अभिभावकबाट यस्तो दुर्व्यवहार हुनुले बालबालिकाको सुरक्षा र संरक्षणको विषयमा गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने विश्वास पीडित परिवार र स्थानीय समुदायले लिएका छन्।

यस घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस